मेरो लागि एकदमै महत्त्वपूर्ण छ ‘जय हो’ : सलोन बस्नेत

मेरो लागि एकदमै महत्त्वपूर्ण छ ‘जय हो’ : सलोन बस्नेत

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र ८ गतेबाट अभिनेता सलोन बस्नेतको मुख्य भुमिका रहेको सिनेमा ‘जय हो’ प्रदर्शनमा आउँदैछ । सिनेमालाई लिएर सलोन बस्नेतलाई ठूलो आशा छ । यो सिनेमा बक्सअफिसमा सफल भएको खण्डमा सलोन करिअरले नयाँ मोड लिनेछ । सिनेमा उनीले निर्वाह गरेको चरित्रमा नै केन्द्रित छ ।

त्यसैले उनी सिनेमाको प्रचारमा गजबले खटिरहेका छन् । सिनेमामा सलोनको जोडी रुपमा अभिनेत्री केकी अधिकारी प्रस्तुत छन् । उनी पनि सिनेमाको प्रचारमा निकै खटेकी छन् । ‘जय हो’ निर्माण टिमले उनलाई जहाँ बोलायो सलोनसहित त्यहीँ पुगीरहेकी छन् । यो सिनेमा सलोनको लागि जति महत्वपूर्ण छ, त्यती नै महत्वपूर्ण केकीको लागि पनि छ ।

सलोन र केकीले ‘जय हो’लाई सन्तानको रुपमा लिएका छन् । सलोन त स्क्रिप्ट लेखनको चरणदेखि नै सिनेमामा संलग्न रहेका थिए । सिनेमामा फोटोग्राफरको भूमिका निर्वाह गर्न उनले फोटोग्राफी तालिम समेत सिकेका थिए । कपाल लामो बनाउन महिनौं घरबाट बाहिर निस्किएनन् । शरीर बनाउन उनले १० महिना मिहिनेत गरे । सलोन पहिलो पटक कुनै सिनेमाका लागि यति धेरै समय दिएका हुन् ।

आइतबार मुन्द्रको कमेडी क्लबमा अतिथिको रुपमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सिनेमाबारे भने, ‘मेरो लागि एकदमै महत्त्वपूर्ण छ यो सिनेमा । म स्क्रिप्टको चरणदेखि सिनेमामा संलग्न छु । आफूले सकेको मिहिनेत गरेको छु । भोलिका दिनमा यो सिनेमा व्यावसायिक रुपमा कसरी जान्छ थाहा छैन । तर, मेरो लागि यो सिनेमा सधैंभरि एकदमै प्यारो चीज बनेर बस्छ ।’

पत्रकारसँगको कुराकानीमा उनले आफ्नो ‘चाइल्ड स्टार’ सलोनसँग पहिलो पटक साथमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । केकीलाई सिनेमाको छायांकनको बेला अभिनेत्री निशा अधिकारीले ‘आफू आबद्ध भएको हरेक सिनेमा सन्तान जस्तो लाग्छ जबसम्म आफ्नो सन्तान हुँदैन’ भनेर भनेकी थिइन् । ‘जय हो’मा आफू पनि एकदमै संलग्न भएर काम गरेकाले उनी यो सिनेमालाई सन्तानको रुपमा हेर्छिन् ।

सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।