‘ऐंचो पैंचो’को बारेमा यसो भन्छन् कलाकार र निर्देशक

‘ऐंचो पैंचो’को बारेमा यसो भन्छन् कलाकार र निर्देशक

ठूलो क्यानभाषका सिनेमाको मतलब मसालेदार र मनोरञ्जनका खुराकले भरिपूर्ण सिनेमा हो ।

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’बाट निर्मात्री कृषा चौलागाई निर्देशकको रुपमा डेव्यु गर्दैछिन् । सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै उनको दौडधुप पनि निकै बढेको छ । आइतबार राजधानी आयोजित एक पत्रकार भेटघाटमा पत्रकारसँग कुराकानी गर्दै उनले ‘ऐंचो पैंचो’ पूर्ण रुपमा राजनितिक सिनेमा नभई सामाजिक कथा भएको बताइन् ।

निर्देशक चौलागाई मिडियाकर्मीसंगको हरेक भेटमा सिनेमासँग जोडिएका दुई कुरामा स्पष्टीकरण दिइरहनु परेको छ । एउटा त सिनेमाको कथालाई लिएर अनि अर्को अभिनेत्री वर्षा राउतको भूमिकालाई लिएर । आइतबार भएको पत्रकारसँगको अन्तक्र्रियामा पनि उनले यही विषयको स्पष्टीकरणबाट कुराकानी सुरु गर्नु परेको थियो ।

उनले भनिन्, ‘पहिलो त हाम्रो सिनेमा राजनितिक हैन । यसको पृष्ठभूमि मात्र राजनीति हो । यसलाई हामीले सोसल ड्रामा भनेर बनाएका हौँ र यही हो पनि ।’ अर्को हल्ला हो वर्षा राउतको सिनेमालाई लिएर असन्तुष्टि । ट्रेलर सार्वजनिक कार्यक्रममा वर्षा राउत नदेखिनु र पोस्टर तथा टिजरमा पनि उनलाई कम स्थान दिनुले निर्माण टिमले वर्षालाई माइनस गरेको पनि चर्चा चलेको थियो ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा वर्षाको जहाज ढिलो उडेकाले आउन नसकेको जानकारी गराइन् भने वर्षाको धेरै दृश्य राख्दा सिनेमाको कथा खुल्ने भएकाले कम दृश्य समेटेको जानकारी निर्देशक चौलागाईले बताइन् । निर्देशकको भनाइलाई समर्थन गर्दै अभिनेत्री वर्षा राउतले पनि सिनेमाको भूमिका र प्रचार सामाग्रीमा आफ्नो स्थानलाई लिएर कुनै गुनासो नभएको बताइन् ।

‘मिडियामा आएजस्तो कुरा पक्कै होइन । मलाई मेरा हरेक सिनेमा रोचक लाग्छ । यो फिल्मप्रति पनि झनै आशावादी छु । सुटिङको क्रममा नै मेरो भूमिका काटिएको हुन्थ्यो भने म आज यहाँ हुँदिनथेँ । मलाई त निर्देशकले अस्तीसम्म पनि अझै केही दृश्य खिचौँन भनिरहनु भएको थियो । मैले नै अब त भयो भनेर भनेकी हुँ’ उनले भनिन् ।

निर्देशक कृषा चौलागाईले सिनेमा निर्माण र महिला दृष्टिकोणबारे धारणा पनि पत्रकार भेटघाट कार्यक्रममा राखिन् । उनले ‘ऐँचो पैँचो’लाई आफूले निर्माण गरिरहेका ठूला क्यानभाषका सिनेमाको निरन्तरताको रुपमा उल्लेख गरिन् । ‘बीचमा मैले अलि फरक खालको सिनेमा पनि निर्माण गर्ने प्रयास गरेको थिएँ । तर म ठूलो क्यानभाषका सिनेमा निर्माण गर्न रुचाउँछु र यो सिनेमा पनि त्यस्तै छ ।’

ठूलो क्यानभाषका सिनेमाको मतलब मसालेदार र मनोरञ्जनका खुराकले भरिपूर्ण सिनेमा भएको कृषाको परिभाषा छ । यस्तै, अभिनेत्री वर्षा राउतले महिला निर्देशकसँग सहकार्य गर्न अनुभव बाँडे । अभिनेत्री राउतले महिला निर्देशक भए पनि महिला कलाकारलाई काम गर्न सजिलो भएको अनुभव सुनाइन् ।

अर्की अभिनेत्री स्वस्तिमा खड्काले पनि पुरुष निर्देशकको तुलनामा महिला निर्देशकसँग काम गर्दा मेकअप, हेयर, पात्र निर्माणदेखि सेटमा हुने सिर्जनात्मक कार्यमा सहभागिता बढी हुने बताइन् । ‘मेल निर्देशकसँग यी कुरामा सहभागिता कम हुन सक्छ । तर सिनेमा निर्माणमा मेल र फिमेल भनेर हेर्नु उचित पक्कै होइन,’ उनले भनिन् ।

अभिनेत्री खड्काले धेरै दृश्य भएर मात्र सिनेमा राम्रो नहुने बताइन् । ‘यो पहिलाको कन्सेप्ट हो । अब हामी यस्ता प्रश्नबाट मुभ हुनुपर्छ,’ उनले अगाडी भनिन्, ‘अब मलाई दर्शकले कुटुमा कुटु सिनेमाकी हिरोइन भनेर मात्र नचिनोस् । बुलबुलकी कलाकार भनेर मात्र नचिनोस् । म सबैखाले सिनेमा अभिनय गर्न चाहन्छु । एउटा विद्याका सिनेमा मात्रै हेर्ने दर्शकलाई अर्को विद्याका सिनेमासम्म तान्ने लक्ष्य मेरो हो ।’

सिनेमामा राजनीतिक कथावस्तु समेटिएको सन्दर्भको प्रश्नमा स्वस्तिमाले कलेज जीवनबाट आफूले बुझेको राजनीति र भोटर भएर बुझेको राजनीतिमा भिन्न रहेको बताइन् । ‘कलेजमा पढ्दा कलेज बन्द गर्ने, टायर बाल्ने कुरालाई राजनीति भनेर बुझेको थिएँ । तर अहिले आएर राजनीति भनेको नीति हो, हाम्रो मुड कस्तो छ । सबै कुरालाई राजनीतिले प्रभाव पारेको हुने रहेछ भनेर बुझें,’ उनले भनिन् ।

अभिनेता मुकुन भुसालले सिनेमा उद्योग किराना पसलजस्तो नभएको बताए । बलिउड सिनेमा ‘पठान’मा सलमानले शाहरुख खानलाई साथ दिंदा व्यापार सफल भएको उदाहरण पेश गर्दै उनले नेपालमा पनि कलाकारले यस्तो साथ दिन जरुरी रहेको बताए । एकअर्काले साथ दिने हो भने सिनेमाको बजार बिस्तार गर्न गाह्रो हुँदैन ।

‘कलाकारको इगोले सिनेमा बजार यस्तो भएजस्तो लाग्दैन । आफुले सँगै काम गरेका कलाकारमा यस्तो देखिएन,’ उनले भने, ‘छैटौं सिनेमासम्म आइपुग्दा हरेक सिनेमामा नयाँ काम गरिरहेको छु । मन भएर मात्र पुग्दैन । मन भयो भन्दैमा मात्र हुँदैन, मेकरले कसरी अप्रोच गर्नुहुन्छ । मनको बहकाउमा भन्दा पनि आएका काममध्ये उत्कृष्ट सेलेक्ट गरेर काम गरेको छु ।’

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

तस्वीर : ज्ञानु राई