राजनीतिक दाउपेचको कथा ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक

राजनीतिक दाउपेचको कथा ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट लामो ट्रेलरले जसरी पनि चुनाव जितेर गाउँको विकास गर्ने अड्डी कसेका दुई उम्मेदवारको राजनीतिक दाउपेचको कथा प्रस्तुत गर्छ ।

राजनीतिलाई स्वर्ग देख्ने शिक्षक पासाङ लामा जो गाउँको विकास गर्ने उद्देश्य लिएर उम्मेदवार बनेको छ । यो भूमिकामा दयाहाङ राईले अभिनय गरेका छन् । जरी लामाको भुमिकामा शिशिर बाङ्देल अभिनय गरेका छन्, जो चुनाव जितेर पारिवारिक विरासतलाई निरन्तरता दिन चाहन्छन् ।

सिनेमाको मुख्य कथा दुई उम्मेदवारले चुनाव जित्नु गर्ने दाउपेचको संघर्ष हो । राजनीतिले परिवार र पात्रको सम्बन्धमा ल्याउने उतारचढावको कथावस्तु पनि सिनेमाले पेश गर्छ । जरी लामा पात्र पासाङ तामाङलाई चुनौती दिन्छ, जसले चुनाव हार्छ, ऊ भोट गन्ने ठाउँबाट सर्वांग नांगो भएर जान्छ ।’ यो डायलगले सिनेमाको द्धन्द्धलाई चित्रण गर्छ ।

अर्कोतिर पैसा बिना चुनाव जितेर देखाउन खोज्ने पासाङ लामा छ । गाउँको सेटिङमा छायांकन गरिएको सिनेमामा दयाहाङ र शिशिरका अलवा कार्म, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा सिनेमा निर्माण भएको हो । उनले अघिल्लो सिनेमा ‘छ माया छपक्कै’मा पनि ग्रामीण राजनीतिको कथावस्तु पेश गरेका थिए । क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको सिनेमामा जय श्रेष्ठको लगानी छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको सिनेमाका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

सिनेमाको यसअघि सार्वजनिक पोस्टर, टिजर तथा गीतले दर्शकको राम्रो साथ पाएका छन् । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको उत्सुकता अझै बढाउने देखिन्छ ।