सःशुल्क ओटीटी प्लेटफर्म सिनेमा घर एपमा रिलिज भयो ‘महापुरुष’

सःशुल्क ओटीटी प्लेटफर्म सिनेमा घर एपमा रिलिज भयो ‘महापुरुष’

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सुपरहिट सिनेमा ‘महापुरुष’ सःशुल्क रुपमा ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । शुक्रबारबाट सन् २०१६ देखि सञ्चालनमा आएको सिनेमाघर एपमा सिनेमा रिलिज भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमा रिलिज बारेमा जानकारी गराइयो । सिनेमालाई २ सय रुपैयाँ तिरेर एपमा हेर्न सकिने जनाइएको छ । ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा सञ्चालक खगेन्द्र लामिछानेले विश्वास व्यक्त गरे ।

नेपालमा एपमा सिनेमा हेर्ने दर्शकको संख्या १/२ वर्षयता बढ्न थालेको उनको अनुभव छ । केही वर्ष अगाडि सय रुपैयाँ मूल्य राखेर सिनेमा हेर्न आग्रह गर्दा धेरै गाली आउने गरेकोमा अहिले दर्शकहरुले नै विभिन्न सिनेमाको डिमान्ड गर्ने अवस्था आएको उनले बताएका छन् ।

एपका अध्यक्ष समेत रहेका उनले भने- ‘कुनै समय युट्युुबमा सिनेमा हेर्ने चलन थियो, त्यो विस्तारै हट्दै गएको छ । यतिबेला विभिन्न एपहरुमा सिनेमा हेर्ने बानी बस्दै गएको छ । केही वर्ष अगाडिसम्म पैसा तिरेर सिनेमा हेर्न आग्रह गर्दा एकदमै गाली आउँथ्यो । अहिले दर्शकहरुले यो सिनेमा कहिले आउँछ भनेर सोध्ने गर्नुहुन्छ । विस्तारै एपमा सिनेमा हेर्ने बानीको विकास भैरहेको देखिन्छ ।’

गत वर्ष सिनेमाघर एपमा सिनेमा ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्याधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो । त्यसपछि सर्भरलाई अपग्रेड गरिएको खगेन्द्रले बताए । उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे । ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा नेपाली सिनेमा क्षेत्रलाई नै फाइदा पुग्ने उनको भनाई छ ।

‘महापुरुष’का प्रमुख अभिनेता हरिवंश आचार्यले पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो सिनेमा रिलिज भएकोमा खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भैसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली सिनेमा क्षेत्रका लागि बरदान रहेको बताए । नेपाली सिनेमाका लागि अर्को नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ ।

उक्त कार्यक्रममा सिनेमाका निर्देशक प्रदीप भट्टराई, निर्माताद्वय म्यास दिपेश खत्री र रविन्द्र सिंह बानियाँ, कलाकारहरु गौरी मल्ल, राजाराम पौडेल, नरेश पौडेल, अरुण क्षेत्रीलगायतको पनि उपस्थिति थियो । विकास बोर्डको तथ्यांकअनुसार ‘महापुरुष’ले घरेलू बक्सअफिसमा ७ करोड ३८ लाखमाथिको ग्रस कलेक्सन गरेको थियो । सिनेमाले समीक्षा पनि उत्कृष्ट पाएको थियो ।

सिनेमा घर एपका प्रमुख कार्यकारी अधिकृत सागर खरेल हुन् । एन्ड्रोइड मोबाइल, ट्याब्लोईड, एन्ड्रोइड तथा स्मार्ट टीभी, अमेजन फायर टीभी, सामसुङ जस्ता टीभीमा सिनेमाघर एप उपलब्ध छ भने मोबाइलमा एप ‘लगइन’ गरेर त्यसबाट अरु डिभाइसमा पनि सिनेमा हेर्न सकिने व्यवस्था गरिएको छ । नेपालमा इसेवा र खल्ती तथा विदेशबाट डेबिट कार्ड र क्रेडिट कार्डमार्फत् भुक्तानी गर्न सकिनेछ ।