पुत्रवियोगमा रहेका सारुकका बुवा सानु ताम्राकारको निधन

पुत्रवियोगमा रहेका सारुकका बुवा सानु ताम्राकारको निधन

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कलाकार सानु ताम्राकारको ७४ वर्षको उमेरमा निधन भएको छ । पुत्रवियोगका कारण अस्पताल भर्ना भएका उनको आज दिउँसो ३ः२० बजे नर्भिक अस्पताल थापाथलीमा निधन भएको हो ।

सानुका छोरासमेत रहेका अभिनेता सारुक ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए । छोरा सारुकले आत्महत्या गरेपछि उनी त्यसको केही दिनपछि नै अस्पताल भर्ना भएका थिए ।

दिवगंत सारुकले अभिनय गरेको अन्तिम सिनेमा ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा पनि सानु विरामी भएका कारण उपस्थित हुन सकेका थिएनन् । गत विहीबार भएको उक्त कार्यक्रममा सारुककी आमा मात्रै उपस्थित भएकी थिइन् । उनले उक्त कार्यक्रममा पनि छोराको मृत्युबारे विभिन्न कुराहरू आइरहेको भन्दै चाँडै सत्यतथ्य सार्वजनिक गरिदिन प्रहरी समक्ष आग्रह गरेकी थिइन् ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार आइतबार बिहान ९ बजे पशुपति आर्यघाटमा सानुको दाहसंस्कार गरिनेछ । अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा पार्थिव शरीर एक घण्टा राखिनेछ ।

सानुले ‘आँधी तुफान’, ‘छोरो’, ‘मोहनी’, ‘फेरि तिम्रो याद आयो’, ‘बासुदेव’, ‘जिन्दगी’, ‘दशगजा’सहित दर्जनौं सिनेमामा अभिनय गरेका छन् । कयौं टेलिसिनेमामा समेत अभिनय गरेका उनी नृत्यका प्रशिक्षक समेत हुन् ।

उनी चलचित्र कलाकार संघको कार्यवहाक अध्यक्षसमेत भएका थिए ।