निर्देशक झरना भन्छिन्- विपिनलाई लिँदा नै क्यारेक्टर हिट हुन्छ भन्ने थियो

निर्देशक झरना भन्छिन्- विपिनलाई लिँदा नै क्यारेक्टर हिट हुन्छ भन्ने थियो

'यो कन्फ्युजन पनि कसैमा नहोस्, हामीले धार्मिक ग्रन्थ भागवत् गीतामा केन्द्रित रहेर सिनेमा बनाएका हैनौँ’ उनी स्पष्ट पार्छिन् ।

द सिनेमा टाइम्स
994
Shares

द सिनेमा टाइम्स, काठमाडौं – झरना थापा निर्देशित सिनेमा ‘एक भगवत् गीता’को पब्लिसिटी सुरु गरिएको छ । भदौ २९ गते रिलिज हुने सिनेमाको निर्माण पक्षले पब्लिसिटी सुरु गरेको हो । ३६० डिग्रीमा टिकटक खिच्दै निर्माण पक्षले सिनेमाको प्रचार सुरु गरेको हो । दर्शकलाई लक्षित गर्दै सिनेमाका कलाकार तथा निर्देशकले टिकटक खिचेको बताइएको छ । पछिल्लो समय टिकटकलक्षित प्रचारमा चलचित्रकर्मीले जोड दिन थालेका छन् ।

निर्देशक झरनाले आफूले यो पटक सिनेमा ‘एक भगवत् गीता’ मार्फत चुनौती उठाएको बताएकी छन् । लभस्टोरी सिनेमा निर्देशन गर्दै आएकोमा यसपटक लभस्टोरीसँगै सामाजिक विषय उठान गरेको उनले बताएकी हुन् । चुनौती उठाए पनि रिस्क जोनमा भने नरहेको उनले स्पष्ट पारेकी छन् ।

‘यसअघि जस्तै यो पटक पनि म रिस्क जोनमा भने छैन । किन भने हामीले सोचेजस्तै काम भएको छ । लभस्टोरीसँग सामाजिक विषय पनि उठान गरेका छौँ,’ उनले भनिन्, ‘काम गर्दै सिक्दै जाने हो । त्यसैले केही नयाँ काम गरौँ भन्ने सन्दर्भमा हामीले तेस्रोलिंगीको विषय पनि उठान गरेका छौँ ।’

लभस्टोरी जनरामा मात्रै बस्नु हुँदैन भनेर आफूले यसपटक फड्को मार्ने प्रयास गरेको उनको भनाइ छ । समाजका अरु कथा पनि भन्नुपर्छ भनेर यो पटक कम्फर्ट जोनबाट बाहिर निस्किएको उनको भनाइ छ । तेस्रोलिंगीको क्यारेक्टरमा अभिनेता विपिन कार्की छन् । पोस्टर र टिजर सार्वजनिक भएपछि विपिनको क्यारेक्टर खुलेको थियो । उनको क्यारेक्टरलाई लिएर यतिबेला आम दर्शक कौतुहल छन् ।

यही कारण पनि सिनेमा प्रतिक्षित बनेको छ । विपीनलाई उक्त क्यारेक्टरमा लिनुको कारण पनि झरनाले स्पष्ट पारेकी छिन् । उनी राम्रो अभिनय गर्ने कलाकार भएको र यसअघि नै आफूलाई अभिनयमा प्रमाणित गरिसकेकाले आफूले विपिनलाई लिएको उनले बताइन् ।

‘उहाँलाई लिनुको कारण उहाँ राम्रो अभिनय गर्ने कलाकार हो । उहाँले राम्रो अभिनय गरेर आफूलाई प्रुभ गरिसक्नु भएको छ,’ उनले भनिन्, ‘उहाँले यो क्यारेक्टर गर्नसक्नु हुन्छ भनेर नै उहाँलाई लिएका हौँ ।’

लभस्टोरीसँगै सामाजिक कथा भन्ने सिनेमाको कन्सेप्ट नै आफ्नो भएको अभिनेत्री सुहाना थापाले बताएकी छन् । विपिनको क्यारेक्टरलाई लिएर भइरहेको चौतर्फी प्रशंसालाई लिएर आफू खुसी भएको उनले बताइन् । ‘स्टोरी मेरो आफ्नै कन्सेप्ट हो । आफ्नो कन्सेप्ट अनुसार तेस्रो लिंगीको क्यारेक्टरलाई लिएर भइरहेको प्रशंसामा म खुसी छु,’ उनले भनिन् ।

मान्छेले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ भन्ने भागवत् गीताको कन्सेप्टमा सिनेमा बनेको उनले बताइन् । यो पटक सामाजिक विषयमा कमर्सियल सिनेमा बनेको उनले जानकारी दिइन् । निर्देशक झरनाले धार्मिक ग्रन्थ भागवत् गीतामै केन्द्रित रहेर भने सिनेमा नबनाइएको स्पष्ट पारिन् ।

‘यो कन्फ्युजन पनि कसैमा नहोस्, हामीले धार्मिक ग्रन्थ भागवत् गीतामा केन्द्रित रहेर सिनेमा बनाएका हैनौँ’ उनी स्पष्ट पार्छिन्, ‘यो ग्रन्थभित्र रहेका राम्रा राम्रा कुराहरूलाई लिएर बनाएका हौँ । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने भागवत् गीताको सार भने सिनेमामा छ ।’ उनले अगाडि भनिन्, ‘एक भगवत गीता अहिलेको समयको कथा हो । हामीले देख्दै र भोग्दै आएको कुरामै सिनेमा केद्रित छ ।’

निर्माता सुनील कुमार थापाले आफूलाई दर्शकलाई हरेक सिनेमामा नयाँ टेस्ट दिउँ भन्ने लाग्ने र सोही अनुसार काम गर्दै आएको बताए । यो पटक मिथिलाको विषय र परिवेश उठान गरेको उनले बताए । ‘यो पटक मिथिलाको कला, संस्कृति र परिवेश सकेसम्म जस्ताको तस्तै देखाउँ भनेर काम गरेका छौँ,’ उनले भने, ‘मैले कहिल्यै पनि बजेटका कारण सिनेमालाई सानो परिधिमा खुम्च्याउँदिन । यसपटक झन हामी लभस्टोरीसँगै सामाजिक विषय पनि उठान गरेकाले थप ठूलो क्यानभास सिनेमामा देखाउने प्रयास गरेका छौँ ।’

अभिनेत्रीसमेत रहेकी झरनाले तेस्रोलिंगीको क्यारेक्टरमा तेस्रोलिंगीलाई नै अभिनय गराउने सोचले आफूले प्रयास गरेको तर कोही नभेटिएको बताएकी छन् । ‘सकेसम्म तेस्रोलिंगीको क्यारेक्टरमा तेस्रोलिंगीलाई नै खेलाउँ भन्ने थियो । हामीले यसका लागि उहाँहरूलाई खोज्यौँ पनि तर अभिनय गर्ने मान्छे भेटेनौँ,’ उनी भन्छिन्, ‘त्यसपछि विपिनलाई लिएका हौँ । विपिनलाई लिँदा यो क्यारेक्टर सियोर हिट हुन्छ भन्ने थियो र भयो पनि ।’

विपिनको कामलाई लिएर धेरैले तारिफ गरेको उनको भनाइ छ । सिनेमामा जेबिस र जेविनलाई बाल कलाकारका रुपमा देखिनेछ । यी दुई कलाकारले एउटै पात्रमा काम गरेका छन् । उनीहरूले आफूहरूले एउटै पात्रका लागि बराबरी काम गरेको बताएका छन् । तर, जेबिस र जेबिन कतिबेला कसले अभिनय गरिरहेका हुनेछन् सिनेमामा दर्शकलाई पत्ता लगाउन कठिन हुनेछ । सुटिङमा एकजना थाकेपछि अर्कोले काम गरेको उनीहरुले बताएका छन् ।

बालकलारका रुपमा सुवेक्षालाई पनि देख्न सकिने छ । उनले सिनेमाका मुख्य कलाकार धिरज मगरको भान्जीको भूमिका निर्वाह गरेकी छन् । सुहानाले बच्चासँग काम गर्दा रमाइलो र आनन्द महसुस गरेको बताइन् । अभिनेत्री सुहाना यो सिनेमाको अभिनयसँगै कथाको कन्सेप्ट, लेखन, प्रिप्रोडक्सनदेखि पोष्ट प्रोडक्सनसम्म आफैँ बसेको र कर्म अनुसारको फल पाइन्छ भनेर देखाउन मन लागेको कुरा सिनेमामार्फत भन्न पाएकोमा आफू खुसी रहेको बताइन् ।

‘यसले गर्दा पनि यो सिनेमा मेरा लागि विशेष छ,’ उनले भनिन् । धिरजसँग सिनेमामा काम गर्न सहज भएको उनको भनाइ छ । टिजर र गीतको तारिफ भएको भन्दै उनले भनिन्, ‘सायद् ट्युनिङ मिलेर नै होला ।’

निर्माता सुनील थापाले अबको डेढ वर्षपछि सुहानाले होम प्रोडक्सन बाहिरका सिनेमामा पनि काम गर्ने बताएका छन् । अहिले अध्ययन नसकिएकाले होम प्रोडक्सनको मात्रै काम गरेको भन्दै उनी भन्छन्, ‘अब डेढ वर्षपछि उसको पढाइ सकिन्छ, त्यसपछि जो सुकैको व्यानरको सिनेमामा पनि उनले काम गर्छिन् ।’

अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा धिरज र सुहानासँगै विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायत कलाकारको अभिनय छ ।

सिनेमामा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको छ । सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनील कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ । हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिकको संगीत छ ।

सुनिल कुमार थापाको निर्माण तथा झरना थापा निर्देशित ‘ए मेरो हजुर’का तीनवाटा सिरिजपछि यो उनीहरुको चौथो सिनेमा हो । उनले निर्देशन गरेका ‘ए मेरो हजुर’का तीन वटै सिरिजले बक्सअफिसमा सफलता हाँसिल गरेका थिए । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।