नम्रताको प्रतिक्रिया – हुँदै नभएको हल्ला चलाइयो, सारुकले न्याय पाउन्

नम्रताको प्रतिक्रिया – हुँदै नभएको हल्ला चलाइयो, सारुकले न्याय पाउन्

द सिनेमा टाइम्स
1.1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठले सारुक ताम्राकारको विषयमा आफ्नो नाम जोडेर हुँदै नभएको हल्ला चलाइएको बताएकी छन् । आफू मौन रहँदा मिडियामा भ्रामक हल्ला चलाउने प्रयास भएको उनको भनाइ छ ।

यद्यपि आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएकी छन् । आफ्नो कानुनी टिमले अध्ययन गरिरहेको उनले बताएकी छन् । आफू विरामी रहेका कारण मिडियामा नआएको उनको भनाइ छ । आफू लामो समय अस्पतालमा बसेको पनि उनले बताएकी छन् ।

‘यो घटनापछि एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडिया, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो । मेरो परिवार र हाम्रो कानुनी टिमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं,’ उनी लेख्छिन्, ‘एकजना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुषप्रधान समाज हो ठिकै छ । मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु ।’

आफू क्यानडा गएको भन्ने समाचारमा सत्यता नरहेको पनि उनले स्पष्ट पारेकी छन् । यसबारे प्रहरी पनि जानकार रहेको उनी बताउँछिन् । आफूले प्रहरीसमक्ष बयान दिएको बताएकी उनले बुटी बाँध्न लगाएको र कालो बोका काटेको भन्ने हल्लामा पनि सत्यता नरहेको उनको दाबी छ । बुटी र बोको पूजा गर्ने भनेर नाम जोडिएका तान्त्रिक गुरुको पनि प्रहरीले बयान लिइसकेको उनले जानकारी दिएकी छन् ।

‘म यस सिनेमाको एक कलाकार पनि थिएँ । सोही सिनेमाको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा हरू बयान दिनु स्वाभाविक थियो । तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ’ उनले भनेकी छन्, ‘कोही अपराधी नउम्कयोस् निर्दोष नफसोस् भन्ने भनाइ छ । कालो बोका र बुटीको कुरालाई फण्डा बनाइएको थियो । अहिलको एक्काइसौं सताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्तिसंगत हुन्छ होला । पूजा गर्ने गुरुको कुरा छ, जुन चर्चा को नाम थियो उहाँलाई समेत प्रहरी प्रशासनले पहिले नै बयान लिइसकेको छ । अनुसन्धान लाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं ।’

सारुक सहयोगी र राम्रो कलाकार भएको भन्दै नम्रताले उनको न्यायका लागि आग्रह गरेकी छन् । नम्रतासँगै सिनेमा ‘ह्यासट्याग माया’मा सँगै काम गरिरहेका अभिनेता सारुकले असार २१ गते आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका थिए । छोराको मृत्युपछि थलिएका उनका बुवा सानु ताम्राकारको पनि निधन भएको छ ।