ओस्कर पठाउन सिनेमा माग्यो नेपालको छनोट समितिले

ओस्कर पठाउन सिनेमा माग्यो नेपालको छनोट समितिले

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालको इन्टरनेसनल फिचर सिनेमा छनोट समितिले ९६औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि आवेदन खुल्ला गरेको छ ।

मंगलबार समितिले विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली सिनेमाकर्मीले आफ्नो सिनेमा २०२३ सेप्टेम्बर १५ तारिख अर्थात् मिति २०८० भदौ २९ गते शुक्रबार दिनको ५ बजेभित्र बुझाउन आग्रह गरेको हो । द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेसले सन् २०२४ मार्च १० तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलस्को डल्बी थिएटरमा ९६औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने जनाएको छ ।

हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कर अवार्ड कोरोना महामारीका कारण गत संस्करण दुई महिना पछाडि धकेलिएको थियो । यो वर्ष भने १ महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ । छनोट समितिले गत सालको असोज महिनाको १५ गतेदेखि लिएर यो वर्षको भदौ २९ अघिसम्म प्रदर्शन भएका सिनेमाले सहभागिता जनाउन सक्ने उल्लेख गरेको छ ।

नेपालमा सिनेमा विकास बोर्ड सदस्य राजु केसीको नेतृत्वमा ५ सदस्यीय इन्टरनेशनल फिचर सिनेमा कार्यकारी समिति रहेको छ । समितिमा मन्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना र हृतिका भट्टराई सदस्य रहेका छन् । अस्करमा जानका लागि नेपाली सिनेमाले प्राविधिक मापदण्डसँगै हलमा कम्तिमा एक हप्ता चलेको प्रमाण पनि पेस गर्नुपर्नेछ ।