विवाह बन्धनमा बाँधिइन् अभिनेत्री निरुता सिंह

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री निरुता सिंह

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले भदौ १४ गते बिहीबार मुम्बई निवासी सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् । निरुताले सामाजिक सञ्जालमा साझेदार गरेको विवाहको एउटा तस्वीरमा उनी श्रीमानसँग खुसी मुद्रामा देखिएकी छन् ।

लामो समयदेखि परिवारसँग मुम्बईमा बस्दै आएकी अभिनेत्री सिंहले विवाह बन्धनमा बाँधिएको जानकारी गराउँदै लेखेकी छन्, ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’ उनलाई प्रशंसक तथा सिनेमाकर्मीले वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् ।

उनले विवाह गरेको तस्वीर सार्वजनिक गर्दै श्रीमानसँग चाँडै नेपाल आउने बताएकी छन् । कुनै समय नेपाली सिनेमामा एकछत्र उपस्थिति जनाएकी निरुताले करिब एक दशकपछि सिनेमा ‘नाई नभन्नू ल ५’बाट अभिनयमा पुनरागमन गरेकी थिइन् । मुख्य भूमिकामा भने उनको कमब्याक सिनेमा ‘दाल भात तरकारी’ हो ।

अब उनी मुस्कान ढकालको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘पञ्चामृत’मा काम गर्ने तयारी छिन् । बसोबास मुम्बईमा भए पनि उनी नेपाल आउजाउ बाक्लै गर्छिन् । सन् १९९३ मा तुलसी घिमिरे निर्देशित सिनेमा ‘दक्षिणा’बाट निरुताले अभिनय डेव्यु गरेकी थिइन् ।

‘दर्पण छायाँ’बाट उनी चर्चित बनेकी हुन् । ‘मन मन्दिर’, बन्दकी’, ‘खानदान’, ‘आफन्त’, ‘आमाको आर्शिवाद’, ‘दुनियाँ’, ‘लहना’, ‘नाता रगतको’ लगायत डेढ सय बढी नेपाली सिनेमामा निरुताले अभिनय गरिसकेकी छन् ।