‘जवान’का कारण ‘ऐंचो पैंचो’लाई अन्याय गरियो भने कानुनी उपचार खोज्छौं : निर्माता बिशाल चौलागाई

‘जवान’का कारण ‘ऐंचो पैंचो’लाई अन्याय गरियो भने कानुनी उपचार खोज्छौं : निर्माता बिशाल चौलागाई

सिनेमा क्षेत्र सञ्चार मन्त्रालय अर्न्तगत पर्छ । म सञ्चारमन्त्री रेखा शर्मा ज्युलाई के भन्न चाहान्छु भने हाम्रो सिनेमा अर्को हप्तासम्म चल्छ वा चल्दैन् भन्ने निर्णय जनताले गर्ने हो । कुनैपनि हलवाला साहुले गर्ने होइन् ।

द सिनेमा टाइम्स
1.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले अहिले दर्शकको राम्रो साथ पाइरहेको छ । सिनेमाले विस्तारै दर्शकको मन जितिरहेका वेला आगामी बिहीबार नै प्रदर्शनमा आउन लागेको बलिउड सिनेमा ‘जवान’को डरले सताउन थालेको छ ।

बलिउड सिनेमा ‘जवान’को नेपालमा सेन्सर नै नगरी अग्रीम टिमक बुकिङ खोलिएको छ । सिनेमालाई हल सञ्चालकले उच्च शो दिएका छन्, भने अग्रीम टिकट बुकिङ पनि उच्च देखिएको छ । जसका कारण राम्रो व्यापार गरिरहेको नेपाली सिनेमा ‘ऐंचो पैंचो’ जवानको चपेटामा पर्ने देखिएको छ । त्यसैले अहिले अर्को साता सिनेमा हलले आफ्नो सिनेमालाई शो नै नदिने होकी भन्ने पिरले सताउन थालेको छ ।

शनिबार दर्शक प्रतिक्रिया लिन हल पुग्दै गर्दा निर्देशक कृषा चौलागाईले विभिन्न हलमा आफ्नो सिनेमाको पोस्टर समेत नराखि विदेशी सिनेमाको टिकट बेचिरहेको पाइएको गुनासो गरेकी थिइन् । सो हलमा सिनेमा निर्माण टिमको सदस्य गएर ‘ऐंचो पैंचो’ किन लगाइएन भनेर सोध्दा बल्ल टिकट बेचिएको समेत खुलासा गरेकी छन् । यसैले पनि आफ्नो सिनेमा अर्को हप्ता बलिउड सिनेमाको मारमा पर्ने पिरले उनको मन पिरोलेको छ ।

यता सिनेमाका निर्माता विशाल चौलागाई यदी हल सञ्चालकले आफ्नो सिनेमालाई चल्दै गरेको अवस्थामा हटाएको खण्डमा कानुनी बाटो खोज्ने बताएका छन् । हामीले पनि व्यापार नै गर्ने हो र हल सञ्चालकले पनि व्यापार नै गर्नु हुन्छ । तर, राम्रो दर्शक सङ्ख्या सहित हलमा चलिरहेको सिनेमालाई हलबाट उतारेर हामीलाई अन्याय गरेका खण्डमा आफुहरु कानुनी बाटो खोज्नुको विकल्प रहँदैन् ।

निर्माता चौलागाईले अगाडी भने, ‘सिनेमा क्षेत्र सञ्चार मन्त्रालय अन्र्तगत पर्छ । म सञ्चारमन्त्री रेखा शर्मा ज्युलाई के भन्न चाहान्छु भने हाम्रो सिनेमा अर्को हप्तासम्म चल्छ वा चल्दैन् भन्ने निर्णय जनताले गर्ने हो । कुनैपनि हलवाला साहुले गर्ने होइन् । तपाईहरुलाई हामी के भन्छौं भने शान्ति पूर्ण तरिकाले तपाईहरुले जुन गेम खेलिरहनु भएको छ । हामीले अर्को रुप लिनु पर्ने हुन्छ, अर्को रुप भनेको के हो ? भने सवैभन्दा बलवान मान्छे भनेको इमान्दार मान्छे हुन्छ ।’

‘हामीले इमान्दार पूर्वक २/३ सय जना मान्छेलाई रोजगार दिएर एउटा सिनेमा निर्माण गरेका हौं । एक हप्ता पनि हलमा नलागी हाम्रा डाइरेक्टर सावले भने जस्तै कोही मान्छेले आज हेर्ला, कोही मान्छेले ४ दिनपछि हेर्ला, कोही मान्छेले अर्को हप्ता हेर्ला, सवैले आफ्नो समय मिलाएर हेर्ने हो सिनेमा । उहाँहरुको व्यापारलाई घाटा पर्यो भने फरक कुरा हो, नत्र अहिलेसम्मको माहोल हेर्दा हल सञ्चालकलाई सिनेमा निकाल्ने कुनैपनि अधिकार छैन् । यदी कसैले जर्वजस्ती निकाल्छ भने हामीले अर्को बाट रोज्नु पर्ने हुन्छ । त्यो भनेको कानुनी बाटो नै हो ।’

‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।