युट्युव ट्रेन्डिङ ‘एक भगवत् गीता’ ट्रेलर, झरनाको निर्देशन र विपिनको कमलामाई चरित्रको चर्चा

युट्युव ट्रेन्डिङ ‘एक भगवत् गीता’ ट्रेलर, झरनाको निर्देशन र विपिनको कमलामाई चरित्रको चर्चा

द सिनेमा टाइम्स
441
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को ट्रेलर गत शुक्रबार एक कार्यक्रमका बीच राजधानीमा सार्वजनिक गरिएको थियो । सिनेमाको सार्वजनिक ट्रेलरले सामाजिक सञ्जाल युट्युवमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

झरना थापा निर्देशित सिनेमाको ट्रेलर अहिले युट्युव ट्रेन्डिङको १८ औं नम्बरमा छ । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउनका साथ अहिलेसम्म ४ लाख २८ हजार बढि भ्युज तथा १ हजार २ सय बढि कमेन्ट र २३ हजार बढि लाईक पाएको छ । सिनेमाको एक हजार बढि कमेन्टमा अधिकांश दर्शकले अभिनेता विपिन कार्कीको पारालैंगिक चरित्र ‘कमलामाई’ले मन जितेको उल्लेख गरेका छन् ।

सिनेमाको कमेन्ट बक्समा सन्तुराम श्रेष्ठले लेखेका छन्, ‘विपिन कार्कीले नेपाली सिनेमा उद्योगको मुहार परिवर्तन गरेका हुन् र सुहाना थापाले यो सिनेमाबाट धेरै कुरा सिक्न सक्छिन् । म उहाँहरुलाई सिनेमा उद्योगको शिर्ष स्थानमा देख्न चाहान्छु । सिनेमालाई सफलताको शुभकामना ।’

नमिन नाम गरेका अर्का दर्शकले सिनेमाको ट्रेलरमा कमेन्ट लेखेका छन्, ‘निर्देशक झरना थापाले आफ्नो जेनेरेसनमा आफुलाई उत्कृष्ट अभिनेत्रीको रुपमा प्रमाणित गरिसकेकी छन् । अब उनले निर्देशकको रुपमा पनि आफुलाई त्यही बाटोमा हिँडाएकी छन् । एक भगवत गीतको लागि शुभकामना । विपिनको कमलामाई अवतार सिनेमाको अनमोल रत्न हुन् ।’

यस्तै, जेनी गुरुङ नामक अर्की एक दर्शकले कमेन्टमा देखेकी छन्, ‘पहिलो पटक आफुलाई नेपाली सिनेमाको हेर्दा गर्व महसुस गरेकी छु । आशा छ सिनेमा पनि ट्रेलर जस्तै उत्कृष्ट बनेको हेर्न पाइयोस् । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।’ सिनेमाको ट्रेलरको कमेन्ट बक्समा अन्य कलाकार सुहाना थापा, धिरज मगर र कविर खड्काको पनि तारिफ दर्शक तथा फ्यानले गरेका छन् ।

जनकपुरको सेटिङमा खिचिएको अन्तरजातीय प्रेमकथामा आधारित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।