२० प्रतिशत छायांकन सकिएपछि आगामी नयाँ बर्षमा ‘उपहार’ रिलिज घोषणा

२० प्रतिशत छायांकन सकिएपछि आगामी नयाँ बर्षमा ‘उपहार’ रिलिज घोषणा

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘उपहार : द जर्नी अफ लाइफ’को हाल धमाधम छायांकन भैरहेको छ । निर्माण टिमका अनुसार हालसम्म सिनेमाको २० प्रतिशत छायांकन सकिएको हो । अहिले एक साथ दुई क्यामेराले सिनेमाको छायांकन भैरहेको जानकारी निर्देउजाले गराए ।

सिनेमाको निर्माण टिमले आइतबार टिमले वितरकको जिम्मेवारी रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिलाई सुम्पिदै आगामी नयाँ बर्षका प्रदर्शन मिति घोषणा गरेका हो । यो मितिमा यसअघि नै रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला’ र लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।

अभिनेत्री रेखा थापा ‘मालिका’ रिलिजको ५ बर्षपछि अभिनय र सिनेमा निर्माणमा फर्किएकी छन् । सिनेमामा मुकुन भुषाल, पुजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अंशु थापा लगायतका कलाकारको पनि अभिनय रहनेछ । सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं आसपासका क्षेत्रमा गरिनेछ ।

 

रेखा फिल्मस् र कपनगढी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमा सामाजिक विषयवस्तुमाथि आधारित हुनेछ । सिनेमामा अभिमन्यू निरवी तथा सुलक्षण भारतीयको लेखन छ । सिनेमामा रेखा, पूजा र बेनिशा एक्सन भूमिकामा प्रस्तुत हुनेछन् । पहिलो पटक उनीहरुको सिनेमामा सहकार्य भएको हो ।

रेखा थापा ‘उपहार’बाट सफल कमब्याकको आशामा छिन् । किनकि ‘रुद्रप्रिया’पछि उनले अभिनय तथा निर्माण गरेका कुनै पनि सिनेमा बक्सअफिसमा सफल भएका छैनन् । त्यसैले पनि अभिनेत्री थापा ‘उपहार’लाई लिएर निकै उत्साहित छिन् ।

सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, विष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी र देव गुरुङको सम्पादन रहनेछ ।