दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’ को रोमान्टिक गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक

दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’ को रोमान्टिक गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक

द सिनेमा टाइम्स
742
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘नाङ्गो गाउँ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर सुन्न सकिन्छ । सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत रहेको गीतमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई रोमान्टिक अवतारमा प्रस्तुत छन् । आलोक शुक्लाको छायांकन रहेको गीतमा चित्लाङको रमणीय दृश्य आकर्षक लाग्छन् । प्रप्सदेखि कलाकारको पहिरनसम्ममा विशेष ध्यान दिइएको गीतमा दयाहाङ र मिरुनाको केमेस्ट्री सुहाएको छ ।

‘नाङ्गो गाउँ’ दयाहाङ र मिरुनाको तेस्रो सहकार्य हो । सिनेमामा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेका छन् । यो जोडीले यसअघि दुई सुपरहिट सिनेमा ‘कबड्डी ४’ र ‘जारी’मा काम गरिसकेका छन् । सिनेमामा साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ ।

सिनेमामा एसडी योगी र दीपक शर्माको संगीत, बनिष शाहको सम्पादन छ । दीपेन्द्र लामा स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको सिनेमाका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाले राजनीति विषयलाई मुल कथा बनाएको छ ।

क्लक वर्क क्रियसनको व्यानरमा निर्माण भएको सिनेमाले नेता र जनतामा दुवैमा इमान्दारिता चाहिन्छ भनेर प्रश्न गर्ने निर्देशक लामा बताउँछन् । सिनेमाको यसअघि सार्वजनिक ट्रेलरले शिक्षण पेशाबाट राजनीतिमा छिरेका दयाहाङ र राजनीतिलाई व्यवसाय पेशाको रुपमा अंगालेका शिशिरबीचको राजनीतिक दाउपेचमा केन्द्रित रहेको बुझाउँछ ।