‘दिमाग खराब’को पोस्टरमा खगेन्द्र, दयाहाङदेखि स्वस्तिमा र सुमनसम्म

‘दिमाग खराब’को पोस्टरमा खगेन्द्र, दयाहाङदेखि स्वस्तिमा र सुमनसम्म

द सिनेमा टाइम्स
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’को पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक बस्नेत ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ प्रदर्शनको ६ वर्षपछि निर्देशनमा कमब्याक गरेका छन् । स्टारकास्ट र निर्देशक बस्नेतको कमव्याक भएका कारण पनि सिनेमा दर्शकमाझ प्रतिक्षित बनेको छ ।

सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । बिहीबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । कोही निराश भावमा त कोही रिसाहा मुडमा देखिएका छन् ।

खगेन्द्र टाउकोमा ब्यान्डेज लगाएको अवस्थामा चित्रित छन् भने स्वस्तिमालाई विवाहित महिलाको रुपमा प्रस्तुत गरिएको छ । सुरज बम ठकुरी कार्यकारी निर्माता र रौनक विक्रम कँडेल निर्माता रहेको सिनेमा जनता र शक्तिको कथामाथि आधारित छ । सिनेमाको बिहीबार साँझ ४ बजे टिजर सार्वजनिक गरिँदैछ ।

सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा बनेको ‘दिमाग खराब’मा आकाश बरालको पटकथा, सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

सन् २०१७ मा आएको ‘लुट २’पछि निश्चल निर्देशनबाट टाढा थिए । उनको सक्रियता अभिनय र गायनमा बढी रह्यो । कोभिडभन्दा अघि उनले ‘जिन्दावाद’ नाममा सिनेमा निर्माणको तयारी समेत गरेका थिए ।