‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’मा निर्माताबीच असोज २६ र कात्तिक ४ मा आउने सहमति

‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’मा निर्माताबीच असोज २६ र कात्तिक ४ मा आउने सहमति

द सिनेमा टाइम्स
532
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरेका दुई सिनेमा ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिमबीच एक हप्ता अगाडी पछाडी प्रदर्शन गर्ने सहमति भएको छ ।

अब यी दुई सिनेमा एक हप्ताको अन्तरमा प्रदर्शनमा आउने भएका हुन् । बिहीबार बितरक र दुई सिनेमाका निर्माण टिमबीच भएको सहमती अनुसार ‘परदेशी २’ असोज २६ गते (घटस्थापनाको दुई दिन अगाडि) र ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शनमा आउने भएका हुन् ।

दुवै सिनेमाका निर्माताद्धारा सार्वजनिक संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चौथौं पटकको छलफलमा अलग-अलग मितिमा सिनेमा प्रदर्शन गर्ने सहमति भएको उल्लेख गरेका छन् । ‘जुधेर होइन जुटेर सफलता हात पार्न सकिन्छ भन्ने कुराको पाठ नेपाली सिनेमाका कतिपय जुधाईले हामीलाई सिकाइसकेको छ । त्यसैले पनि हामी जुधेर होइन जुटेर जाने निर्णय गर्न सफल भयौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । गायक सपूतले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । सिनेमाको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी रहेका छन् ।

त्यस्तै, दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेललगायतको अभिनय छ । खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको सिनेमामा उनीसँगै अभिनेत्री वर्षा सिवाकोटीले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।