जनता र शक्तिको कथा ‘दिमाग खराब’ टिजर सार्वजनिक

जनता र शक्तिको कथा ‘दिमाग खराब’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
959
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको बिहीबार इन्टरनेटमा सार्वजनिक टिजरमा जनता र शक्तिबीचको रस्साकस्सीलाई देखाइएको छ ।

अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’मा रहेको टिजरमा दृश्यको समीकरण र ब्याकग्राउन्ड स्कोर दमदार छ । आगामी तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।

सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको सिनेमामा आकाश बरालको लेखन छ । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन् । सिनेमा ‘लुट २’पछि उनी निर्देशनबाट टाढा रहेका थिए । कोभिडभन्दा अघि उनले ‘जिन्दावाद’ नाममा सिनेमा निर्माणको तयारी समेत गरेपनि ठुलो बजेका कारण त्यो सिनेमालाई पोस्टपोण्ड गर्दै यो सिनेमाको निर्माण तथा निर्देशन गरेका हुन् ।