हिन्दूवादी संस्थाको निवेदनपछि रोकियो ‘एक भगवत् गीता’को सेन्सर सिफारिस, बोर्डले सहयोग नगरेको निर्माताको गुनासो

हिन्दूवादी संस्थाको निवेदनपछि रोकियो ‘एक भगवत् गीता’को सेन्सर सिफारिस, बोर्डले सहयोग नगरेको निर्माताको गुनासो

सिनेमाले प्रदर्शन अनुमति नपाए आफ्नो परिवार सिनेमा क्षेत्र छाडेर अमेरिका पलायन हुन बाध्य हुने निर्माता थापाले बताए । बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले निराश हुँदै भने, ‘यदि सिनेमा नै नबना भन्नुहुन्छ भने म यो सिनेमा नै थन्काइदिन्छु । मलाई सिनेमा क्षेत्रमा आउनु पनि छैन । म परिवारसहित अमेरिका गएर खुसीसाथ बस्नेछु । निर्माण इजाजत दिएको बोर्डले अहिले सेन्सर सिफारिस नै दिँदैन ।’

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक भगवत् गीता’ले सेन्सर सिफारिस नपाएपछि बिहीबार विकास बोर्डको माहोल तनावपूर्ण बनेको थियो । सिनेमाका निर्माता सुनिलकुमार थापा सेन्सर सिफारिस लिन बोर्डमा ११ घण्टासम्म कुरेका थिए । केही धार्मिक संघसंस्थाले सिनेमालाई प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि बोर्डले सेन्सर सिफारिस रोकेको हो ।

निर्माता थापा र चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले पत्रकार सम्मेलन गरे । शीर्षक, कथासार, बजेट, ब्यानर, कलाकारदेखि निर्देशकसम्मको नाम उल्लेख नभएसम्म चलचित्र विकास बोर्डले सिनेमा निर्माण इजाजत दिँदैन् । बोर्डबाट इजाजत लिएपछि मात्र सिनेमा निर्माण तथा प्रदर्शन हुन पाउँछ । तर, बोर्ड आफैले निर्माण इजाजत दिएको सिनेमालाई समेत सेन्सर सिफारिस रोकेर दुःख दिन थालेको छ । यही झमेलामा सिनेमा ‘एक भगवत् गीता’ पनि परेको हो ।

केही हिन्दूवादी संस्थाहरुले सिनेमाको नाम र विषयवस्तुमा आपत्ति जनाउँदै निवेदन दिएपछि सिनेमालाई सेन्सर सिफारिस दिन बोर्ड डराएको छ । बिहीबार दिनभर सिनेमाका निर्माता सुनील कुमार थापा सेन्सर सिफारिसको पत्र कुरेर बोर्डमै बसिरहे । तर, बोर्डले सेन्सर सिफारिस दिनुको सट्टा निर्मातालाई हिन्दूवादी संगठनका प्रतिनिधिहरुसँग सहमति खोज्नका लागि छलफलमा अल्झाई दियो ।

छलफलमा हिन्दूवादी संगठनका प्रतिनिधिहरुले व्यावसायिक प्रयोजनका लागि धर्मग्रन्थको नाम प्रयोग गरेर सनातन धर्म-संस्कृतिमा आँच र्पुयाउने काम भएको भन्दै सिनेमाको नाम परिवर्तन गर्नुपर्ने अडान लिएर बसेका थिए । निर्माता थापाले भने सिनेमामा भगवत् र गीता पात्रको नाम मात्र रहेको स्पष्ट पार्दै हिन्दू धर्ममाथि कुनै पनि खालको आघात पुग्ने दृश्य र कथा सिनेमामा नभएको दाबी गरिरहेका थिए ।

तर, हिन्दूवादी संस्थाहरु नाम परिवर्तन गर्नुपर्ने अडानबाट पछि हटेनन् । जसले गर्दा बोर्ड पनि सिनेमालाई सेन्सर सिफारिस दिन डरायो । आज शुक्रबार यसबारेमा बोर्ड बैठकबाट निर्णय गरिने जानकारी पाएपछि निर्माता थापा केही निराश र आक्रोशित देखिएका छन् । सिनेमाकर्मीको पक्षमा उभिनुपर्ने बोर्ड सेन्सर सिफारिस नदिएर निर्मातालाई नै पेलेर जान खोजेको भन्दै उनले गुनासो व्यक्त गरेका छन् ।

सिनेमाले प्रदर्शन अनुमति नपाए आफ्नो परिवार सिनेमा क्षेत्र छाडेर अमेरिका पलायन हुन बाध्य हुने निर्माता थापाले बताए । बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले निराश हुँदै भने, ‘यदि सिनेमा नै नबना भन्नुहुन्छ भने म यो सिनेमा नै थन्काइदिन्छु । मलाई सिनेमा क्षेत्रमा आउनु पनि छैन । म परिवारसहित अमेरिका गएर खुसीसाथ बस्नेछु । निर्माण इजाजत दिएको बोर्डले अहिले सेन्सर सिफारिस नै दिँदैन ।’

बोर्डले सिनेमालाई सेन्सर सिफारिस दिनुपर्ने उनको अडान छ । ‘बोर्ड त निर्माताहरुको पक्षमा उभिनुपर्ने होनि । तर, निर्मातालाई नै पेलेर यो र त्यो भएन भन्दै समस्या दिइरहेको छ,’ उनी भन्छन्, ‘मेरो सिनेमाले कुनै पनि हालतमा सेन्सर सिफारिस पाउनुपर्छ । बरु सेन्सर बोर्डले यो नाम नराख्न वा सिनेमा नै प्रदर्शन गर्न मिल्दैन् भन्यो भने म त्यसका लागि तयार छु । तर, सेन्सरमा सिनेमा हेरिनुपर्छ ।’

बिकास बोर्डका सदस्य तथा प्रवक्त केएल बुढाथोकीले भने सिनेमाको सेन्सर सिफारिस नरोकिएको दाबी गरेका थिए । ‘निर्माता सुनिल जी आज सेन्सर सिफारिसका लागि आउनुभएको छ । हामी त्यो प्रक्रियालाई अघि बढाउनेछौं । हामीले सेन्सर सिफारिस रोक्नै मिल्दैन । तर, कुनै विषयमा विवाद श्रृंखला भयो भने एकचरण छलफलबाट सहमति खोज्ने प्रयास बोर्डले गर्छ । बोर्डले त्यही गरेको हो,’ उनले भने ।

आपत्ति जनाएका संस्था र निर्माताबीच सहमति नभएको अवस्थामा नियमअनुसार बोर्डले आफ्नो निर्णय दिने बुढाथोकीले स्पष्ट पारे । सदस्य बुढाथोकीले अगाडि भने, ‘सेन्सर सिफारिस दिन हामी डराएको हुँदै होइन, संवेदनशील भएको हो । दुवै पक्ष आ-आफ्नो अडानबाट पछि हट्नु भएन भने बोर्ड आफ्नो प्रक्रियामा अगाडि बढ्छ । त्यो प्रक्रिया के हो भन्ने कुरा बोर्ड बैठकबाट निर्णय हुन्छ ।’

जनकपुरको सेटिङमा खिचिएको झरना थापा निर्देशित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।