दीवाकरको ‘मायावी’बाट कमब्याक गर्दै पल शाह

दीवाकरको ‘मायावी’बाट कमब्याक गर्दै पल शाह

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्ने सिनेमा ‘मायावी’बाट अभिनेता पल शाहले करिब दुई वर्षपछि कमब्याक गर्ने भएका छन् । निर्माण टिमले बिहीबार एक पोस्टरमार्फत् सिनेमामा पल अनुबन्धित भएको जानकारी गराएको हो ।

अभिनेता पल शाहसँग निर्माण टिमको केही दिनअघि नै कागजी सम्झौता गरेको थियो । कोभिडभन्दा अगाडि सिनेमा ‘तिमीसँगै हुने मन छ’मा पनि दीवाकरले पलसँग सहकार्यको प्रयास गरेका थिए । तर, त्यसबेला विभिन्न कारणले नजुरेको सहकार्य ‘मायावी’मा हुन पुगेको छ ।

सिनेमामा पलको जोडी अभिनेत्री दीपिका प्रसाईसँग बाँधिनेछ । यसअघि यो जोडीले एक म्यूजिक भिडियोमा एकसाथ काम गरिसकेका छन् । सिनेमामा भने यी दुईबीच पहिलोपटक सहकार्य हुन लागेको हो । आगामी असोज २ गतेबाट छायांकनमा जान लागेको सिनेमामा आशिर्वाद क्षेत्री र रिहान गिरीको पनि अभिनय रहनेछ ।

क्रिएटिभ सिने आट्र्सको ब्यानरमा निर्माण हुने सिनेमामा निर्देशक दीवाकर स्वयंको लेखन रहेको छ । एसडी योगीको संगीत, राम अविरल विष्टको गीत र राजुविक्रम थापाको डिओपी रहने ‘मायावी’को छायांकन पोखरा आसपासमा गरिने जानकारी निर्देशक भट्टराईले दिएका छन् ।