भेनिस प्रदर्शनको पूर्वसन्ध्यामा ‘द रेड सुटकेस’को पोस्टर तथा टिजर सार्वजनिक

भेनिस प्रदर्शनको पूर्वसन्ध्यामा ‘द रेड सुटकेस’को पोस्टर तथा टिजर सार्वजनिक

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फिडेल देवकोटाको डेब्यू निर्देशनमा निर्माण भएको सिनेमा ‘द रेड सुटेकस’को फर्स्टलुक सार्वजनिक भएको छ । भेनिस इन्टरनेसनल सिनेमा महोत्सवमा शुक्रबार प्रिमियर हुन गइरहेको सिनेमाको पोस्टरसँगै दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फर्स्टलुक सार्वजनिक गरेको हो ।

सार्वजनिक क्लिप्समा देश फर्कने र देश छाड्नेको नियतिलाई सुन्दर फ्रेममा कैद गरिएको छ । सिनेमाले हलिउडको चर्चित पत्रिका भेराइटीमार्फत् फर्स्टलुक सार्वजनिक गरेको हो । सिनेमाका निर्देशक देवकोटा र निर्माता रामकृष्ण पोखरेलको भनाईलाई उल्लेख गर्दै भेराइटीले नेपाल र श्रीलंकाबीच दुर्लभ सहकार्य रहेको शीर्षकमा समाचार लेख्दै सिनेमाको क्लिप सार्वजनिक गरेको छ ।

फिडेल देवकोटाकै लेखनसमेत रहेको सिनेमाले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गर्छ । ‘द रेड सुटेकस’ भेनिसको होराजेन्टे विधामा प्रतिस्पर्धा गरिरहेको छ र शुक्रबार यसको वल्र्ड प्रिमियर हुँदैछ ।

वर्ल्ड प्रिमियरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी हुँदैछन् । सिनेमालाई आइसफल प्रोडक्सनबाट रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन् । सिनेमाको सह(निर्मातामा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन् ।