विपिन कार्की भन्छन् – महिला निर्देशक नभएको भए मलाई ‘कमलामाई’को क्यारेक्टर गर्न कठिन हुने थियो

विपिन कार्की भन्छन् – महिला निर्देशक नभएको भए मलाई ‘कमलामाई’को क्यारेक्टर गर्न कठिन हुने थियो

आफूले ‘एक भागवत गीता’मा अरु कलाकारको भन्दा हरेक दिन दुई घण्टा बढी दिएको उनी स्मरण गर्छन् । ‘अरुको भन्दा मेरो दुई घण्टा अगाडि कलिङ टाइम हुन्थ्यो ।

द सिनेमा टाइम्स
595
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विपिन कार्कीले महिला निर्देशक भएकै कारण ‘एक भगवत गीता’मा आफूलाई काम गर्न सहज भएको बताएका छन् । ‘सायद यो सिनेमामा पुरुष निर्देशक भएको भए मलाई अफ्ठ्यारो हुन्थ्यो होला’ विपिन भन्छन्, ‘सायद मेरो चरित्र पनि त्यस्तै भएर होला महिला निर्देशक भएका कारण मैले सहज महसुस गरेँ ।’

‘एक भागवत गीता’मा विपिन तेस्रोलिंगी महिला अर्थात् कमलामाईको भूमिकामा छन् । उनले यो चरित्र निभाएको पहिलो पटक हो ।

‘तेस्रोलिंगी महिलाको भूमिकामा भएकाले पनि होला मलाई उहाँले बेलाबेलामा यसरी गर्नुपर्छ भनेर भन्नु हुन्थ्यो । पुरुष भएर होला मेकअपको कुरामा हामी पुरुषलाई त्यति धेरै थाहा हुँदैन, यसमा पनि महिला निर्देशक हुँदा सहज भयो,’ उनी भन्छन्, ‘म त महिलाको चरित्रमा मात्रै हो त्यसैले महिलाको बडील्याङ्ग्वेज के हुन्छ त्यसमा मभन्दा धेरै उहाँलाई थाहा हुने नै भयो । त्यसैले उहाँ सम्झाइरहनु हुन्थ्यो ।’

तेस्रोलिंगीको चरित्र थाहा पाउनका लागि आफूलाई प्रोडक्सनले छायांकन अवधिभर तेस्रोलिंगीहरूसँग संगत गर्ने वातावरण बनाइदिएको उनी बताउँछन् । प्रोडक्सनले यति नगरेको भए पनि चरित्रलाई न्याय गर्न केही कठिन हुनसक्ने उनी बताउँछन् ।

आफूले ‘एक भागवत गीता’मा अरु कलाकारको भन्दा हरेक दिन दुई घण्टा बढी दिएको उनी स्मरण गर्छन् । ‘अरुको भन्दा मेरो दुई घण्टा अगाडि कलिङ टाइम हुन्थ्यो । हेबी मेकअप गर्नु पर्ने भएकाले म दुई घण्टा अगाडि नै सेटमा पुग्थेँ,’ उनी भन्छन्, ‘सुरुसुरुमा त निकै कठिन हुन्थ्यो । तर, पनि बानी परेँ ।’

तेस्रोलिंगी समुदायबारे यही सिनेमाका कारण आफूले धेरै बुझ्ने र संगत गर्ने अवसर पाएको पनि उनी बताउँछन् ।

मिथिलाञ्चल कमलामाईको संस्कृति भएको भू–भाग भएकाले जनकपुरमा सिनेमा छायांकन गरिएको विपिनको भनाइ छ । यो सिनेमाले लुकेर र दबिएर बसेको समुदायलाई बिद्रोह गर्न सहज हुने उनको विश्वास छ ।

यसैबीच उनले सिनेको कथाबस्तुमा विभिन्न हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले चासो देखाएकोप्रति भने असन्तुष्टि जनाएका छन् । कस्तो सिनेमा चल्न दिने र कस्तो सिनेमा चल्न नदिने भन्ने निर्णय गर्ने राज्यको आधिकारिक निकाय हुँदा हुँदै विभिन्न व्यक्ति र संस्थाले अनावश्यक चासो देखाउनु गलत भएको उनको बुझाइ छ । यसमा चलचित्र विकास बोर्डले स्ट्यान लिन नसक्नु दुर्भाग्य भएको उनले बताएका छन् ।

सिनेमाको विषयबस्तुलाई लिएर हस्तक्षेप हुनु बिडम्बनापूर्ण भएको उनको धारणा छ । ‘सुरुमा राज्यको निकायले नै ठिक छ भनेर भन्ने तर पछि यही विषयमा एक पटक छलफल गर्नुपर्छ भन्नु नै गलत हो । हुँदैन भने सुरुमै भन्नु पथ्र्यो,’ उनी भन्छन् ।

सिनेमा मेकरले हरेक व्यक्ति र संघसंस्थासँग अनुमति लिँदै हिँड्नु पर्ने अवस्था आउन बिडम्बनापूर्ण भएको उनको भनाइ छ । पोस्टर, टिजर र ट्रेलरबाट आफूलाई प्राप्त फिडब्याकबाट आफू निकै उत्साही भएको उनी बताउँछन् ।

अन्तरजातीय प्रेमकथामा आधारित सिनेमामा विपिनसँगै सुहाना थापा, धिरज मगर, कबिर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन रहेको छ । मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी छ । शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना छ ।

‘एक भागवत गीता’ भदौ २९ गते रिलिज हुँदै छ ।