‘श्रीमद्भागवद् गीता’को अवहेलना नभएको स-प्रमाण प्रस्तुत गर्दा पनि सेन्सर सिफारिस दिइएन् : झरना थापा

‘श्रीमद्भागवद् गीता’को अवहेलना नभएको स-प्रमाण प्रस्तुत गर्दा पनि सेन्सर सिफारिस दिइएन् : झरना थापा

द सिनेमा टाइम्स

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को नामलाई लिएर उत्पन्न विवादका कारण चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस पाउन सकेको छैन । केही हिन्दूवादी संगठनहरुले सिनेमाको नाम परिवर्तनको माग गर्दै सिंहदरवारसम्म पुगेर निवेदन बुझाएपछि बोर्डबाट सिनेमाले सेन्सर सिफारिस नपाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विवाद मिलाउन निर्देशन दिएपछि बोर्ड विवाद मिलाएर मात्रै सेन्सर सिफारिस दिनुपर्ने दबाबमा छ । सेन्सर सिफारिस नपाउँदा सिनेमाको प्रदर्शन नै अन्योलमा परेको छ । यसैबीच निर्देशक झरना थापाले शनिबार मध्यरातमा फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो सारा स्रोत सम्पत्ति र सपना लगानी गरेर निर्माण गरेको सिनेमा चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भैरहेको बताएकी छन् ।

सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनेको गुनासो गर्दै उनले अब अन्तिम फैसला भगवानको हातमा रहेको उल्लेख गरेकी छन् । अन्तिम साससम्म सिनेमामै काम गर्छु भनेर हिँडिरहेको बताउँदै उनले लेखेकी छन्, ‘समाजको केही यथार्थलाई टिपेर एउटा सिनेमा हामीले निर्माण गर्यौं । सिनेमाको कथावस्तु तथा मेरो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर सिनेमाको नाम ‘एक भगवत् गीता’ राख्यौं । मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने काम अहिलेसम्म गरेकी छैन ।’

सिनेमाको निर्माण पूरा भएर दर्शकमाझ सुम्पिने बेला नाममाथि प्रश्न उठाइएको गुनासो गर्दै उनले आफ्नो जीवन नै भगवान् श्रीकृष्णको आस्थामा चलेको र श्रीमद्भागवत गीता आफ्नो सिनेमा कर्मको प्रेरणा रहेको बताएकी छन् । उनी अगाडि लेख्छिन्, ‘म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो सिनेमाको कथावस्तु सुनाएर ‘श्रीमद्भागवद् गीता’को अवहेलना नभएको स-प्रमाण बताइरहँदा पनि सिनेमालाई सेन्सर अनुमति नै दिइएको छैन ।’

चलचित्र विकास बोर्डले सिनेमाको सेन्सर सिफारिसको विषयमा शुक्रबार बोर्ड बैठकबाट निर्णय गर्ने जानकारी गराएको थियो । तर, शुक्रबार यसबारेमा कुनै निर्णय हुन सकेन । आइतबार दिउँसोसम्म सिनेमाको सेन्सर सिफारिसको विषयमा बोर्डले ठोस निर्णय लिने जनाइएको छ । हिन्दूवादी संगठनहरुले भने सिनेमाको नाम परिवर्तन नगरी प्रदर्शन अनुमति दिए जस्तोसुकै कदम उठाउने चेतावनी दिएका छन् ।

जनकपुरको सेटिङमा खिचिएको झरना थापा निर्देशित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।