भेनिसमा ‘द रेड सुटकेस’लाई तीन मिनेटको स्टयान्डिङ ओभेसन

भेनिसमा ‘द रेड सुटकेस’लाई तीन मिनेटको स्टयान्डिङ ओभेसन

द सिनेमा टाइम्स
490
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फिडेल देवकोटाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर भएको छ । भेनिस इन्टरनेसनल सिनेमा महोत्सवको दोस्रो ठूलो विधा होरोजान्टेमा प्रतिस्पर्धामा रहेको सिनेमा १३ सय क्षमताको साला डेरसेना हलमा हाउसफुल दर्शकबीच प्रिमियर भएको हो ।

प्रिमियरमा सहभागी हुन नेपालबाट निर्माता रामकृष्ण पोखरेल र शोभा पोखरेल केही दिनअघि भेनिस पुगेका थिए भने छायांकार सुशन प्रजापति र कलाकार सौगात मल्ल र विपिन कार्की बिहीबार साँझ भेनिस आइपुगेका हुन् । लन्डनमा रहेकी सृष्टि श्रेष्ठ पनि बिहीबार साँझ मात्र भेनिस पुगेकी थिइन् ।

सिनेमाका प्रिमियरअघि निर्देशक, निर्माता र कलाकार फोटोकलमा सहभागी भएका थिए भने फोटोकलपछि निर्देशक फिडेल देवकोटा र सृष्टि श्रेष्ठले भेनिसको अफिसियल च्यानलहरु टिभी, रेडियो र पत्रपत्रिकामा अन्तर्वार्ता दिएका थिए । यसपछि भने उनीहरु भेनिसको रेडकार्पेड हिँडेका थिए । भेनिसको समय अनुसार २ बजे सिनेमाको स्क्रिनिङ सुरु भएको थियो ।

एक घण्टा ५० मिनेट लामो सिनेमाको प्रदर्शनपछि हलमा उपस्थित दर्शकले सिनेमालाई तीन मिनेटको स्टयान्डिङ ओभेसन दिएका थिए । मन पराएको सिनेमालाई दर्शकले यसरी नै तालीले स्वागत गर्ने परम्परा महोत्सवमा रहेको छ । भेनिसमै यो बर्ष पुअर थिंक्सका लागि योर्गोस लान्थिमोसले ७ मिनेट लामो स्टयान्डिङ ओभेसन पाएको चर्चा थियो ।

सिनेमाको प्रदर्शनपछिको प्रश्नोत्तर सेसन भने रोचक रहेको थियो । सिनेमाको प्रदर्शनपछि दर्शकले कथासँग नेपाली समाजको साइनो र सिनेमा भित्र निर्देशक फिडेल देवकोटाले राखेका साँकेतिक दृश्यहरु बारे जिज्ञासा राखेका थिए । यो बाहेक दर्शकले छायांकनको छनौट तथा नेपाल र श्रीलंकाबीचको सहकार्यलाई अनौठो मानी जिज्ञासा राखेका थिए ।

नेपालले धेरैजसो युरोपियन निर्मातासँग सहकार्य गरेर सिनेमा निर्माण गरेको छ । तर ‘द रेड सुटकेस’ले भने श्रीलंकाका चर्चित निर्देशक विमुक्ति जयसुन्दरासँग सहकार्य गरेको हो । यो सिनेमाका सम्पादक पनि श्रीलंकन नै हुन् । सिनेमाले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गर्छ । तर ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौँ जुन हामी कसैका लागि पनि सुखद् अनुभव छैनन् ।

सिनेमामा सौगात मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् । विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रविन खतिवडा सिनेमाभित्र रोचक भूमिकामा छन् । शुक्रबार नै सिनेमाले बिसाटो डिओरो नामको अवार्ड पनि प्राप्त गरेको थियो । स्वतन्त्र समीक्षकहरुको संस्थाले प्रदान गर्ने यो अवार्ड डेब्यू सिनेमा बनाउनेलाई दिइने परम्परा अनुसार फिडेल देवकोटालाई प्रदान गरिएको सर्टिफिकेटमा उल्लेख छ ।