‘एक भगवत् गीता’को शीर्षक विवादमा सहमति, विकास बोर्डले दियो सेन्सर सिफारिस

‘एक भगवत् गीता’को शीर्षक विवादमा सहमति, विकास बोर्डले दियो सेन्सर सिफारिस

आइतबार निवेदनकर्ता विभिन्न धार्मिक संस्था प्रतिनिधि र निर्माण टिमबीच सिनेमाको नाम परिर्वतन गरेर 'एक भगवत् र एक गीता' (सामाजिक कथा) राख्ने सहमती भएको हो ।

द सिनेमा टाइम्स
476
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् आद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को शिर्षक विवाद मिलेको छ । आइतबार निवेदनकर्ता विभिन्न धार्मिक संस्था प्रतिनिधि र निर्माण टिमबीच सिनेमाको नाम परिर्वतन गरेर ‘एक भगवत् र एक गीता’ (सामाजिक कथा) राख्ने सहमती भएको हो ।

सिनेमाको नाम परिवर्तन गर्ने सहमती भएसँगै चलचित्र विकास बोर्डले आजै सेन्सर सिफारिस समेत दिएको छ । धार्मिक संस्था र निर्माण टिमबीचको विवाद मिलेसँगै सिनेमा आगामी शुक्रबारबाट नै प्रदर्शनमा आउने समेत पक्का भएको छ । विवादलाई देखाउँदै विकास बोर्ड सेन्सर सिफारिस नै नदिएपछि सिनेमा रिलिज नै नहुने होकी भन्ने अन्योल सिनेमाकर्मीमा देखिएको थियो ।

यसअघि सिनेमाका निर्माता सुनीलकुमार थापाले भगवत् र गीताको बीचमा ड्यास राख्न गरेको प्रस्ताव धार्मिक समूहले अस्वीकार गरेका थिए । बैठकमा विभिन्न वैकल्पिक नामहरूबारे छलफल भएको थयो । ‘गीता एक प्रेमकथा’, ‘गीता भगवत्’ जस्ता थुप्रै नामहरूमा छलफलपछि ‘एक भगवत् र एक गीता’ नाममा दुवै पक्ष सहमत भएका हुन् । सो नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ ।

सिनेमाको शिर्षक विवाद छलफलमा विकास बोर्ड अध्यक्ष भुवन केसी, निर्माता सुनिल कुमार थापा, निर्माता संघका अध्यक्ष नवल खड्का, विकास वोर्डका प्रवक्ता केएल बुढाथोकी र अभिनेता तथा निर्माता दीपकराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

जनकपुरको सेटिङमा खिचिएको झरना थापा निर्देशित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।