खगेन्द्रको ‘पानीफोटो’ नाटक र सिनेमापछि अब पुस्तकमा

खगेन्द्रको ‘पानीफोटो’ नाटक र सिनेमापछि अब पुस्तकमा

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘पानीफोटो’ गुरुकुलमा सन् २०१० मा मञ्चन भएको सुपरहिट नाटक हो । यो नाटक माओवादी जनयुद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाआमाको कथामा आधारित थियो । त्यही नाटकको कथामा सिनेमा ‘पानीफोटो’ समेत निर्माण भएर गतवर्ष सार्वजनिक प्रदर्शनमा समेत आइसकेको छ ।

खगेन्द्र लामिछानेको लेखन, निर्देशन र अभिनय सिनेमा र नाटक दुवैमा थियो । अब खगेन्द्रले ‘पानीफोटो’ नाममै पुस्तक सार्वजनिक गरेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच कलाकार तथा निर्देशक नीर शाह, अभिनेत्रीहरु ऋचा शर्मा, स्वस्तिमा खड्का, सुरक्षा पन्त, मलिका महत, निर्देशकहरु अशोक शर्मा, निश्चल बस्नेत, दीपेन्द्र खनाललगायतले संयुक्त रुपमा विमोचन गरेको पुस्तकमा खगेन्द्रले सिनेमा निर्माण, लेखन र निर्देशनको अनुभवलाई उतारेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको सिनेमाप्रतिको प्रतिबद्धता सराहनीय रहेको भन्दै प्रशंसा गरे । पुस्तक सिनेमाको पाठ्यक्रममै राख्न योग्य रहेको भन्दै उनले भने, ‘सिनेमा पढ्ने विद्यार्थीलाई ग्य्राजुएसन गर्न चाहिने सम्पूर्ण विषयवस्तु यो पुस्तकभित्र छ ।’ सिनेमा निर्माण गर्न हिँडेकाहरुले पनि एकपटक ‘पानीफोटो’ पढ्नुपर्ने शाहको सुझाव छ ।

सिनेमा कसरी निर्माण हुन्छ भन्ने सन्दर्भमा रहेर आफूले पुस्तक लेखेको लेखक लामिछानेले जानकारी दिए । सिनेमा निर्माणको प्रक्रिया बुझ्न चाहनेका लागि पुस्तक विशेषतः लाभदायक हुनसक्ने उनको विश्वास छ । कोरोना महामारीका कारण जारी लकडाउनको समयमा उनले ‘पानीफोटो’ पुस्तक लेखेर भ्याएका थिए । नाटक र सिनेमामा उठान गरिएको कथालाई भने उनले पुस्तममा उतारेका छैनन् ।