मोरङमा शुभमुहूर्त गर्दै इटहरीबाट सुरु भयो ‘रङ्गेली’को छायांकन

मोरङमा शुभमुहूर्त गर्दै इटहरीबाट सुरु भयो ‘रङ्गेली’को छायांकन

द सिनेमा टाइम्स
511
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबारबाट ग्याङ्गस्टर कथामा निर्माण हुन लागेको सिनेमा ‘रङ्गेली’को छायांकन सुरु भएको छ । मोरङस्थित काली मन्दिरमा शुभमुहूर्त गर्दै मंगलबारदेखि सुनसरीको इटहरीबाट सिनेमाको छायांकन सुरु गरिएको हो । रङ्गेलीसहित पूर्वका कर्सिया, कटहरी, विराटनगर र विर्तामोडमा छायांकन हुनेछ ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा र रविन बोगटी लगायतको मुख्य भूमिका रहनेछ । दयाहाङ यतिबेला आफ्नो सिनेमा ‘गाउँ आएको बाटो’को प्रिमियरका लागि क्यानडामा छन् । जसले गर्दा उनको भागको छायांकन २ हप्तापछि राखिएको छ । त्यस्तै, मिरुना आफू अभिनीत सिनेमा ‘नाङ्गो गाउँ’ प्रदर्शनपछि छायांकनमा जोडिनेछिन् ।

अर्जुन सुवेदीको निर्देशन रहने सिनेमाको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्मातामा संसार चौलागाई र रमेश भट्टराई बशिष्ठ छन् । युवक कार्की र शिव थपलिया सह-निर्माता रहेको सिनेमामा निर्देशक सुवेदी स्वयंको लेखन छ । सिनेमाको छायांकन सुसन प्रजापति गरिहेका छन् । सिनेमाको एक गीतमा युरोपको प्रतिष्ठित बुढापेस्ट अर्केस्ट्राको लाइभ अर्केस्ट्रा राखिएको छ ।

प्लानेट थ्री फिल्मस् एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको पहिला ‘रङ्गेली ग्याङ्स्टर्स’ शीर्षक राखिएको थियो । पछि निर्माण टिमले शीर्षक परिमार्जित गरेर ‘रङ्गेली’ मात्रै राखेको हो । आगामी फागुन २५ गते महाशिवरात्रीको अवसरमा सिनेमा सार्वजनिक प्रदर्शनमा आउनेछ । निर्माण नहुँदै सिनेमा प्रदर्शन मिति घोषणा गरिएको हो ।