‘नाङ्गो गाउँ’ले गलत नेता चुनेर पठाउने जनतामाथि प्रश्न उठाउँछ : दीपेन्द्र लामा

‘नाङ्गो गाउँ’ले गलत नेता चुनेर पठाउने जनतामाथि प्रश्न उठाउँछ : दीपेन्द्र लामा

मैले तठस्थ भएरै सिनेमा निर्माण गरेको छु । त्यसो त म वास्तविक जीवनमा पनि तठस्थ छु । कुनै राजनीतिक दलप्रति मेरो आस्था छैन । न त कुनै पार्टीको कार्यकर्ता हुँ । मलाई राम्रो नलागेको कुराको खुलेरै विरोध गर्छु । यद्यपि, मलाई राजनीतिमा रुचि छ ।

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजनीतिक विषयवस्तुमा आधारित सिनेमा ‘नाङ्गो गाउँ’ आगामी शुक्रबार अर्थात् भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । पछिल्लो नेपाली सिनेमामा लभस्टोरी र कमेडीसँगै पहिलो प्राथमिकतामा राजनीतिक विषय परिरहेको छ । यही बिषयलाई समेटेर रंग पत्रकारबाट निर्देशक बनेका दीपेन्द्र लामाले ‘नाङ्गो गाउँ’ निर्माण तथा निर्देशन गरेका हुन् ।

निर्देशक लामाले सिनेमा ‘छ माया छपक्कै’मा खानेपानीमा हुने राजनीतिलाई कथावस्तु बनाएका थिए । भने ‘नाङ्गो गाउँ’मा गलत नेता चुन्ने जनतामाथि प्रश्न उठाउने प्रयास गरेको लामाको दाबी छ । सिनेमाको नामलाई बिम्बात्मक प्रयोग गरेको बताउँदै इमानदारिता नेता र जनता दुवैमा चाहिन्छ भन्ने प्रश्न सिनेमामा उठाएको उनले बताए ।

सिनेमाको प्रचार-प्रसारका क्रममा भएको एक भेटमा उनले भने, ‘सधैं नेताहरुमाथि हामीले प्रश्न उठाउँछौं । तर, नेता चुन्ने जनतामाथि चाहिँ किन प्रश्न नउठाउने ? गलत नेता चुनिएर आए भन्छौं तर त्यो नेता चुनेर पठाउने जनता नै हो । असल नेता चुन्ने जनताको चाहिँ दायित्व हुँदैन ? इमानदारिता नेता र जनता दुवैमा चाहिन्छ भन्ने प्रश्न सिनेमामा उठाएको छु ।’

आफूले एक निर्देशकको रुपमा तठस्थ भएर सिनेमाको कथा भनेको दाबी समेत उनले गरेका छन् । ‘मैले तठस्थ भएरै सिनेमा निर्माण गरेको छु । त्यसो त म वास्तविक जीवनमा पनि तठस्थ छु । कुनै राजनीतिक दलप्रति मेरो आस्था छैन । न त कुनै पार्टीको कार्यकर्ता हुँ । मलाई राम्रो नलागेको कुराको खुलेरै विरोध गर्छु । यद्यपि, मलाई राजनीतिमा रुचि छ । भ्याएसम्म हरेक चुनावमा मतदान गर्न गाउँ पुगेकै हुन्छु,’ उनले भने ।

दीपेन्द्रले सिनेमामा आफूले केही ‘एक्सपेरिमेन्ट’ नगरेको पनि स्पष्ट पारेका छन् । ‘मलाई पहिल्यैदेखि भन्न मन लागेको कथालाई लेखेर क्यामेरामार्फत् पर्दामा उतारेको छु । हामीले सिनेमा उद्योगका लागि एउटा ‘माइलस्टोन’ कृति बनाउँछौं भनेर निर्माण गरेका पनि होइनौं,’ उनी भन्छन्, ‘मेरो उद्देश्य निर्माताको लगानी सुरक्षित भैदियोस् र सिनेमा हेर्दा दर्शकहरुलाई यातना नहोस् भन्ने हो । सिनेमाको कन्टेन्टले दर्शकलाई केही सोच्न प्रेरण दिओस् भन्ने मात्र आफ्नो उद्देश्य छ ।’

सिनेमामा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ । सिनेमामा एसडी योगी र दीपक शर्माको संगीत, बनिष शाहको सम्पादन छ ।

क्लक वर्क क्रियसनको व्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र लामा स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमाका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । सिनेमाको सार्वजनिक ट्रेलरले शिक्षण पेशाबाट राजनीतिमा छिरेका दयाहाङ र राजनीतिलाई व्यवसाय पेशाको रुपमा अंगालेका शिशिरबीचको राजनीतिक दाउपेचमा केन्द्रित रहेको बुझाउँछ ।