युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘एक भागवत र एक गीता’

युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘एक भागवत र एक गीता’

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शिर्षक विवादको लामो रस्साकस्सीपछि सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) सेन्सर पास भएको छ । केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

अब सिनेमा हरेक उमेर समुहका दर्शकले सजिलै सिनेमा हेर्न सक्नेछन् । निर्देशक झरना थापाले शिर्षक विवादले सेन्सरमा केही ढिलाई भएपनि सेन्सर पास भएर दर्शकमाझ सिनेमा ल्याउन पाउँदा निकै खुशी लागेको बताउँछिन् । सेन्सरमा सिनेमा हेरेका सवैले ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राम्रो बनेको भन्दै तारिफ पाएको भन्दै निर्देशक थापाले खुशी समेत व्यक्त गरेकी छन् ।

मंगलबार सेन्सर बोर्डका पदाधिकारीले सिनेमा हेरेका थिए । बोर्डले सिनेमाको लम्बाई दुई घण्टा १९ मिनेट तय गरेको छ । सेन्सर बोर्डले सिनेमामा समावेश कुनै दृश्य र संवादमा कैंची नचलाएको निर्माता सुनिलकुमार थापाले बताए । ‘सिनेमामार्फत तपाईले तराईदेखि पहाडसम्मलाई जोड्नुभएको छ । संस्कृति जोगाउनुभएको छ । मौलिकता पेश गर्नुभएको छ भनेर बधाई दिनुभयो,’ उनले भने ।

आफूहरुले धर्ममा आँच आउने कुनै कार्य नगरेको सिनेमा सेन्सर पास भएपछि पुष्टि भएको थापाले बताए । ‘हामीले पहिल्यैदेखि भनेका थियौं कि धार्मिक कुरामा आँच आउने कुरा गरेका छैनौं,’ सुनिलले भने, ‘बरु सेन्सर बोर्डबाट बधाई प्राप्त भयो ।’

साथै, अब आफु र आफ्नो टिम दर्शक प्रतिक्रिया लिन उत्साहीत रहेको निर्माता सुनिल कुमार थापाले बताए । सेन्सर प्रतिनिधिले सिनेमा निकै मन पराएकाले पनि दर्शकले पनि सिनेमा मन पराउने विश्वास निर्माता थापालाई छ । विशेष गरि अभिनेता विपिन कार्कीको कमलामाई अवतारलाई सेन्सरमा तारिफ मिलेको र अन्य कलाकार धिरज सुहाना र बालकलाकार जेभिस र जेभिन श्रेष्ठको अभिनयलाई सेन्सर प्रतिनिधिले रुचाएका हुन् ।

जनकपुरको सेटिङमा खिचिएको झरना थापा निर्देशित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।