‘एक भागवत र एक गीता’को मैथिली गीत ‘झिझिया’ सार्वजनिक

‘एक भागवत र एक गीता’को मैथिली गीत ‘झिझिया’ सार्वजनिक

जानकी मन्दिरको परिसरमा छायांकन गरिएको गीतमा अभिनेत्री सुहाना थापा नृत्य गर्दै प्रस्तुत छिन् भने अभिनेता विपिन कार्की र बालकलाकार जेभिन र जेभिस श्रेष्ठलाई ‘ट्रान्सजेन्डर’ लुक्समा देख्न सकिन्छ ।

द सिनेमा टाइम्स
791
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)को मैथिली भाषाको गीत सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ‘झिझिया’ बोलको गीतमा नेहा प्रियदर्शनी र प्रवेश मलिकको युगल स्वर रहेको छ भने गायक मलिकले नै संगीत दिएका हुन् ।

मंगलबार सार्वजनिक सिनेमाको गीत मैथिली समुदायको परम्परागत गीत हो । यसले मैथिली संस्कृति र जीवन बोल्छ । मैथिली समुदायमा दुर्गा पूजाको अवसरमा यो गीतमा नृत्य गर्ने प्रचलन छ । त्यही गीतलाई नयाँ शैलीमा तयार गरेर सिनेमामा समावेश गरिएको छ ।

जानकी मन्दिरको परिसरमा छायांकन गरिएको गीतमा अभिनेत्री सुहाना थापा नृत्य गर्दै प्रस्तुत छिन् भने अभिनेता विपिन कार्की र बालकलाकार जेभिन र जेभिस श्रेष्ठलाई ‘ट्रान्सजेन्डर’ लुक्समा देख्न सकिन्छ ।

सिनेमा विपिनको भूमिका र लुक्सका कारण चर्चाको केन्द्रमा छ । उनले पहिलो पटक सिनेमामा ‘ट्रान्सजेन्डर’को भूमिका निर्वाह गरेका हुन् । दर्शकमा पनि उनको भूमिकालाई लिएर कौतुहलता देखिन्छ । यो सिनेमा चल्ने मुख्य आधार नै उनले गरेको अभिनय र पात्रले दर्शकमाझ बनाएको हाइपलाई मानिएको छ ।

झरना थापा निर्देशित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।