सुनिल कुमार थापा भन्छन्,- सिनेमा चलाउन नाम नै परिवर्तन गरेर किन फण्डा गर्नुपर्थ्यो र ?

सुनिल कुमार थापा भन्छन्,- सिनेमा चलाउन नाम नै परिवर्तन गरेर किन फण्डा गर्नुपर्थ्यो र ?

निर्माता सुनिल कुमार थापा आफूले फण्डा नगरेको बताएका छन् । फण्डा नै गर्ने भए बोर्डमा किन रुनुपर्थ्यो र ? विगतमा फण्डा गरेर सिनेमा चलाएको हामीले प्रशस्त देखेका छौं ।

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भागवत र एक गीता’ नामको विवाद टुंगिसकेको छ । केही हिन्दूवादी संस्थाहरुले सिनेमाको नाममा आपत्ति जनाउँदै शीर्षक परिवर्तन गरिनुपर्ने माग राखेका थिए ।

आइतबार चलचित्र विकास बोर्डको रोहवरमा सिनेमाको टिम र धार्मिक संगठनहरुबीच ‘एक भागवत र एक गीता’ शीर्षकमा सहमति जुटेपछि विवाद टुंगिएको थियो । निर्माण पक्ष सिनेमा प्रदर्शनको मुखमा रहेकाले शीर्षक परिवर्तन नगर्ने अडानमा थियो । तर, विवादबीच सिनेमा प्रदर्शन गर्दा हुनसक्ने दुर्घटनाबाट बच्न निर्माण टिम केही लचिलो बनेको थियो ।

मंगलबार सिनेमामा समावेश मैथिली भाषाको गीत ‘झिझिया’ सार्वजनिक कार्यक्रममा निर्देशक झरना थापाले नयाँ शीर्षकमा आफू सन्तुष्ट रहेको बताइन् । साथै, उनले नाम परिवर्तनको विवादलाई लिएर पनि कसैप्रति चित्तदुखाई नरहेको उल्लेख गरिन् ।

झरनाले अगाडी भनिन्, ‘म नयाँ शीर्षकमा एकदमै सन्तुष्ट छु । किनकि, हामी शीर्षकबाट बाहिर निस्कनु परेन । शीर्षकमै भएको कुरालाई मिलाइयो । त्यसका लागि म खुसी छु । मलाई ‘एक भागवत र एक गीता’ भन्नका लागि समस्या छैन ।’ सिनेमाको शीर्षकलाई लिएर भएको विवादको समयमा सिनेमाकर्मीसँगै विकास बोर्ड अध्यक्ष भुवन केसीको पनि राम्रो साथ मिलेको उनले सुनाइन् ।

शीर्षकलाई लिएर विवाद चलिरहँदा कतिपयले त्यसलाई सिनेमा प्रचारको फण्डाको रुपमा समेत टिप्पणी गरेका थिए । तर, निर्माता सुनिल कुमार थापा आफूले फण्डा नगरेको बताएका छन् । ‘फण्डा नै गर्ने भए बोर्डमा किन रुनुपर्थ्यो र ? विगतमा फण्डा गरेर सिनेमा चलाएको हामीले प्रशस्त देखेका छौं । त्यही भएर हामीलाई पनि त्यसरी नै सोचियो होला । तर, त्यो फण्डा थिएन,’ भनेर उनले स्पष्ट पारेका हुन् ।

निर्माता थापाले सिनेमाको शीर्षक परिवर्तन गर्नुपर्दा दुःख लागेता पनि खुसी हुनुपरेको बताए । ‘सिनेमा चलाउनलाई मैले किन फण्डा गर्नुपर्थ्यो र ? शीर्षक नै परिवर्तन गरेर ?,’ उनले भने, ‘हामीले ‘एक भगवन् गीता’ नामलाई छाडेर ‘एक भागवत र एक गीता’ राख्नुर्पयो । नामबाट कृष्णजीको मुरली र मयूरको प्वाँख हटाउनुर्पयो । मनमा दुःख त छ नि । तर पनि खुसीसाथ बाँच्नुपरेको छ ।’

जनकपुरको सेटिङमा खिचिएको झरना थापा निर्देशित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।