निर्माताको रुपमा ‘मायावी’मा भित्रिए अभिनेता राज कटुवाल

निर्माताको रुपमा ‘मायावी’मा भित्रिए अभिनेता राज कटुवाल

द सिनेमा टाइम्स
623
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईको मुख्य भुमिका रहने सिनेमा ‘मायावी’मा अभिनेता राज कटुवाल निर्माताको रुपमा भित्रिएका छन् । यही सिनेमाबाट उनी निर्माणमा समेत अगाडि बढ्ने भएका हुन् ।

दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमामा उनको अभिनय भने रहने छैन । निर्देशक भट्टराई र राजबीच सिनेमा निर्माणमा मात्रै सहकार्य हुनेछ । राजले सिनेमाको कथावस्तु एकदमै मन परेकाले निर्माताको रुपमा जोडिएको बताएका छन् । सिनेमा ‘लाल्टिन’बाट डेब्यू गरेका उनी सन् २०१७ मा प्रदर्शन भएको सिनेमा ‘लीला’पछि अभिनयबाट टाढा छन् ।

यस वर्ष आफ्नै निर्माणमा बन्न लागेको सिनेमा ‘राजा’बाट अभिनयमा कमब्याक गर्ने उनको तयारी छ । चलचित्र विकास बोर्डको सदस्यको रुपमा एक कार्यकाल विताइसकेका उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन्, जसमध्ये ‘मेसो मिलाएर’ गीत हिट भएको थियो ।

असोज २ गतेबाट छायांकनमा जान लागेको ‘मायावी’मा सुशील सिटौला र मोडल समिम खानको पनि मुख्य भूमिका रहनेछ । समिमले यही सिनेमाबाट डेब्यू गर्न लागेका हुन् । सिनेमामा निर्देशक भट्टराई स्वयंको लेखन छ ।

क्रिएटिभ सिने आर्टसको ब्यानरमा निर्माण हुने फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।