दीपक-दीपाको आईएनआई सिनेमाज सञ्चालनमा, निर्माता र प्रदर्शकले ५०/५० प्रतिशत सेयर पाउने

दीपक-दीपाको आईएनआई सिनेमाज सञ्चालनमा, निर्माता र प्रदर्शकले ५०/५० प्रतिशत सेयर पाउने

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंको नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा १० करोडको लागतमा अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्मल शर्माले मल्टीप्लेक्स हल सञ्चालनमा ल्याएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा कलाकार हरिवंश आचार्यले आईएनआई सिनेमाज हलको संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

दुईवटा अडिटोरियम रहेको हलमा जम्मा ३८७ (एउटामा १७७ र अर्कोमा २१०) सिट क्षमता छ । स्क्रिनप्ले फिल्म्स कम्पनीअन्तर्गत सञ्चालनमा आएको हलको व्यवस्थापन देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले हेर्नेछ । योसँगै आईएनआईको हल संख्या तीनवटा पुगेको छ । नयाँ बसपार्कको ल्होत्से मल र बुटवलको मिलनचोकमा गरी यसको दुईवटा हल सञ्चालनमा छन् ।

५ वर्षअघिदेखि दीपक-दीपाले हलको निर्माण सुरु गरेका थिए । कोरोना महामारी र आर्थिक मन्दीका कारण हल निर्माणमा ढिलाई भएको थियो । आफ्नो सिनेमा ‘छक्का पञ्जा ४’बाट हललाई सञ्चालनमा ल्याउने योजना उनीहरुको थियो । तर, त्यो सम्भव भएन । शुक्रबारदेखि यो हलमा ‘एक भागवत र एक गीता’, ‘नाङ्गो गाउँ’, ‘जवान’ र ‘नन् २’ गरी चारवटा सिनेमाको प्रदर्शन थालिएको छ ।

सञ्चालक दीपकले आफ्नो हलमा विदेशीभन्दा नेपाली सिनेमालाई प्राथमिकता दिने पनि बताएका छन् । ‘चलेका नेपाली सिनेमा चाहिँ पीडित हुनु नपरोस् । सिनेमा नै चलेको छैन भने त माया-प्रेमले मात्र हल चल्दैन । राम्रो चलेको नेपाली सिनेमालाई पीडित हुने अवस्था आउन दिने छैनौं,’ उनले प्रतिवद्धता व्यक्त गरे । हलवाला र निर्माता नङ र मासु रहेको बताउँदै गिरीले दुवैले एकअर्कालाई बचाउनुपर्ने धारणा राखे ।

हलको उद्घाटन कार्यक्रममा दीपकले आफ्नो हलबाट निर्माता र प्रदर्शकले बराबर सेयर पाउने घोषणा गरेका छन् । ‘हामीले वर्षौंदेखि भन्दै आएको कुरा के हो भने निर्माता र प्रदर्शकले सिनेमाबाट प्राप्त गर्ने रकम बराबर हुनुपर्छ । शेयर बाँडफाँडमा हामी निर्माताको असन्तुष्टि रहँदै आएको छ । यो हलमा भने निर्माता र प्रदर्शकबीच ५०/५० प्रतिशत सेयर बाँडफाँड हुने घोषणा गर्दछु,’ उनले भने ।