विशेष शोमा रुचाइयो ‘एक भागवत र एक गीता’ दर्शकको स्याबासीले खुशी झरना

विशेष शोमा रुचाइयो ‘एक भागवत र एक गीता’ दर्शकको स्याबासीले खुशी झरना

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्रीबाट निर्देशक बनेकी झरना थापाद्वारा निर्देशित सिनेमा ‘एक भागवत र एक गीता’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । पहिलो दिन सुखद अकुपेन्सी हासिल गरेको सिनेमाले लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित छ । सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दा उनी खुसी देखिएकी हुन् ।

आफ्नो यो सिनेमाका लागि बक्स अफिसको अंकभन्दा दर्शकको स्याबासी महत्त्वपूर्ण रहेको निर्देशक थापा बताउँछिन् । शुक्रबार साँझ राजधानीमा आयोजित विशेष शोमा उनले सञ्चारकर्मीसँग भनिन्, ‘मलाई व्यापारिक सफलताभन्दा पनि प्रतिक्रिया महत्त्वपूर्ण लाग्छ । बक्स अफिस भनेको त हिजो पनि थियो मेरो । त्यसैले त्यसको त्यतिधेरै चाहना छैन । मेरो चाहना चाहिँ दर्शकले स्याबासी दिउन् भन्ने हो, जुन यतिबेला मैले पाइरहेकी छु ।’

निर्देशक थापाले अगाडी भनिन्, ‘एउटा संवेदनशील विषय उठाएकाले के होला भन्ने डर त थियो । दर्शक प्रतिक्रियाले केही ढुक्क भएको छु । समाजलाई नयाँ चिज लिएर आउनुभएको छ भनेर तारिफ हुँदा धेरै खुसी लागेको छ,’ उनले भनिन् । ‘ए मेरो हजुर’का श्रृंखलामा प्रेमकथा भन्दै आएकी उनी पहिलोपटक फरक विषय भन्न पाएकोमा सन्तुष्ट देखिन्छिन् ।

शुक्रबार आयोजित सिनेमाको विशेष शोमा सिनेमाकर्मी, पत्रकारलगायत उपस्थिती पाहुनाबाट निर्माणपक्षले उत्कृष्ट प्रतिक्रिया पाएको छ । सिनेमा हेर्न पुगेका निर्माता तथा निर्देशक आकाश अधिकारी, कलाकार किरण केसी लगायतले यो सिनेमाबाट नयाँ बिषयमा बहस सुरु गरेको बताए । उनीहरुले, यस्तो कथा भन्नका लागि निर्मातामा आँट हुनुपर्ने भन्दै सुनिलकुमार थापाको प्रशंसा गरे ।

समाजले नै देखेर पनि नदेखेको जस्तो गर्ने पात्रहरुको कथालाई निर्देशक झरनाले उत्कृष्ट तरिकाले भनेकी छिन् । विपिन कार्की, सुहाना थापा, धिरज मगर, कविर खड्काको अभिनय उत्कृष्ट छ । बाल–कलाकारको रुपमा देखिएका जेभिन र जेभिस श्रेष्ठले राम्रो काम गरेका छन् । यसअघि रोमान्टिक सिनेमा निर्देशन गर्दै आएकी झरनाले रोमान्स भन्दा बढी गम्भिर बिषयलाई प्राथमिकता दिएकी छिन् ।

 

सिनेमा हेरेपछि अभिनेता धिरज मगरले भने-‘मैले पनि आज पहिलो पटक सिनेमा हेर्न पाएँ । सिनेमाले भन्न खोजेको कथाले दर्शकको मन छुन्छ जस्तो लाग्छ । यसको ब्याग्राउन्ड स्कोर, विपिन दाई, सुहाना लगायतको अभिनय बेजोड छ । यो सिनेमामा काम गर्न पाएकोमा खुशी छु ।’

यता शुक्रबार एक भागवत र एक गीता सामाजिक कथा हेर्न राप्रपा नेपालका सांसद ज्ञानेन्द्र शाही पनि हल पुगेका थिए । नेपाली सिनेमाले पनि नयाँ कथा र बिषयवस्तु माथि सिनेमा निर्माण हुन थालेकोमा खुशी व्यक्त गरे । साथै यस्ता नयाँ र नेपाली परिवेस सुहाउँदा सिनेमा निर्माण गर्न जरुरी रहेको उनको भनाई थियो ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् । सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।