‘रेकर्ड ब्रेक’को लोभ छैन : दयाहाङ राई

‘रेकर्ड ब्रेक’को लोभ छैन : दयाहाङ राई

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा नांङ्गो गाउँले बक्सअफिसमा सुरुवाती राम्रो व्यापार गरेको छ । शुक्रबार र शनिबार बक्सअफिसमा राम्रो व्यापार गरेको सिनेमाको निर्माण टिमले शनिबार साँझ राजधानीमा मिडियासामु खुशी साटेको थियो ।

‘कबड्डी ४’ र जारी सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको जोडीको फाइदा ‘नाङ्गो गाउँ’ले उठाएको हो । दुई दिनको अकुपेन्सीलाई मध्यनजर गर्दै आइतबारका लागि केही मल्टीप्लेक्सहरुले शो संख्यामा समेत वृद्धि गरेका छन् । आइतबारबाट भने दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएको खण्डमा राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

शुक्रबार र शनिबारको व्यापार यथावत् रहेको अवस्थामा असोज १ गते परेको तीज र ३ गते संविधान दिवसको विदाको फाइदा सिनेमाले उठाउन सक्नेछ । सिनेमाले दर्शकको राम्रो साथ पाएपछि अभिनेता दयाहाङ राई खुसी देखिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले आफूलाई बक्स अफिसको दबाब नरहने बताए । बरु निर्माताको लगानी सुरक्षित भए ढुक्क लाग्ने उनको भनाई छ । उनी भन्छन्, ‘मेरो निर्माताले निरन्तर काम गर्ने वातावरण बनोस् ।’

दयाहाङका अघिल्ला दुई सिनेमा ‘कबड्डी ४’ र ‘जारी’ले बक्स अफिसमा ठूलो रेकर्ड बनाएका छन् । के उनलाई ती सिनेमाको रेकर्ड आफ्नै सिनेमाले तोडोस् भन्ने लोभ छ ? पत्रकारको प्रश्नमा उनले भने – ‘रेकर्ड ब्रेक’को लोभ छैन । बरु कसरी राम्रो काम गर्ने भन्ने चाहिँ लोभ हुन्छ । व्यावसायिक हिसाबमा लाग्न थालियो भने त एउटा कलाकारलाई कठिन हुन्छ । त्यसरी सोचिनु हुन्न भन्ने लाग्छ ।’

सिनेमाको निर्देशक लामाले आफुले दर्शकको इच्छा अनुसार निर्माण गरेको बताए । दर्शकलाई रिजाउन सक्नु निर्देशकलाई निकै चुनौती रहेपनि दर्शकको मन बुझेर कथा लेखेर पर्दामा ल्याउन गाह्रो काम भएको अनुभव उनको छ । यता सिनेमाका निर्माता हिमाल कडरियाले दुई दिनमा नै लगानी उठेको दाबी गरेपनि ‘नांङ्गो गाउँ’को लगानी कति थियो र दुई दिनमा कति व्यापार गर्यो भन्ने चाहीँ खुलाउन चाहेनन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको सिनेमामा शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झाको पनि अभिनय छ । राजनीतिक विषयवस्तुमा आधारित रहेको सिनेमालाई हिमाल कडरियाले निर्माण गरेका हुन् । निर्माता कडरियाले फिल्मलाई मिलेको दर्शकको साथले उत्साहित बनाएको बताए । नेपाल तथा विदेशबाट लगानी सुरक्षित भैसकेको उनको दाबी छ ।