संसारभर डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’को विशेष प्रदर्शन हुने

संसारभर डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’को विशेष प्रदर्शन हुने

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’ नेपालका मुख्य शहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ ।

नेपाली ग्रामीण भेगका सबै नेपालीले मनन् गर्नुपर्ने कथामा डकुमेन्ट्री छोटो सिनेमा निर्माण भएको हुनाले यसलाई स्वदेशसँगै नेपालीहरुको बसोबास रहेको अन्य देशमा पनि विशेष प्रदर्शन गर्न लागिएको निर्देशक रामजी ज्ञवालीले बताए ।

‘अहिले हाम्रो गाउँ एक्लो छ । एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दैछौं, जुन कथा असाध्यै दर्दनाक छ’ ज्ञवालीले भने, ‘यो कथालाई सबैले मनन् गरुन भन्ने सोंचले नै विशेष प्रदर्शन गर्न लागेका हौं ।’ आनन्द राज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘रित्तो गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेसँगै निर्माण टिमले आफ्नो योजना सार्वजनिक गरेको हो ।

आनन्द राजले राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको सिनेमाको पोस्टरमा एक महिलाले टुकी बालेर केही खोज्दै गरेको देखिन्छ । कलाकार हिउँवाला गौतमलाई मात्रै पोस्टरमा देखाइएको छ । ‘रित्तो गाउँ’ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गर्न खोजेको अनुमान लगाउन सकिन्छ ।

‘रित्तो गाउँ’मा अहिलेका चर्चित अभिनेता मुकुन भुषाल, पुराना कलाकार सुवास गजुरेल र डेव्यु-अभिनेत्री सविना राउतले पनि मुख्य भुमिका निवार्ह गरेका छन् । निर्माण टिमले फस्टलुक पोस्टरबाहेक कुनैपनि प्रकारको प्रमोशनल सामग्री सार्वजनिक नगर्ने जानकारी दिएको छ ।

रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमाका सहायक निर्देशक दिनेश वहादुर रावत हुन् भने डिओपी निरज कँडेल हुन् । निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमून, आराध्या जस्ता छोटा सिनेमा निर्माण तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी एक दशक बढी समयदेखि पत्रकारिता पेशामा समेत आवद्ध छन् ।

‘रित्तो गाउँ’लाई आनन्द राज शर्मा वाग्लेले निर्माण गरेका हुन् । यो छाटो सिनेमामा प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायल लगायत कार्यकारी निर्माताको रुपमा छन् । निर्माता आनन्द राज शर्मा वाग्लेले पहिलो विशेष प्रदर्शन काठमाडौंबाट हुने र यसबाट उठेको सम्पूर्ण रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरिने प्रतिक्रिया दिए ।

यस डकुमेन्ट्री सिनेमा ८ दिन छायांकन गरिएकाले तत्काल युट्युवमा सार्वजनिक नहुने निर्माण टिमले जनाएको छ । राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको सिनेमालाई नहकुल खड्काले सम्पादन गरेका हुन् । यो छोटो सिनेमाको लगानी करिब २० लाख आसपासमा रहेको निर्माण टिमले जानकारी दिएको छ ।