दर्शक बढाउँदै ‘एक भागवत र एक गीता’, बुधबारको लागि थपिए शो

दर्शक बढाउँदै ‘एक भागवत र एक गीता’, बुधबारको लागि थपिए शो

द सिनेमा टाइम्स

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)ले बक्सअफिसमा बिस्तारै दर्शक बढाउन थालेको छ । सिनेमाको इनिसियल व्यापार सुखद नदेखिएपनि विकेण्ड पछि बिस्तारै दर्शक बढाउदै लगेको वितरक गोविन्द शाहीले बताए ।

वितरक शाही आज मंगलबारबाट सिनेमाले भने सोचेभन्दा राम्रोले साथ पाउन थालेको उल्लेख गरेका छन् । सिनेमा हेर्नका लागि थिएटरमा टिकट बुकिङको अनुपात पनि बढेको छ । थिएटरको बुकिङ सिटलाई हेर्ने हो भने गएको तीन दिनभन्दा यता बुकिङको अनुपात निकै बढेको छ । भोली बुधबारका लागि क्युएफएक्स लगायतका हलले शो समेत बढाएको देख्न सकिन्छ ।

राजधानीलगायतका विभिन्न हलको बुकिङ हेर्दा दर्शकको ठुलो संख्याले बुकिङ गरेको देख्न सकिन्छ । यही अनुरुपले सिनेमाले भोलिको संविधान दिवसको सार्वजनिक बिदाको फाइदा उठाउनका साथै बाँकी दिनमा पनि यही अनुपातमा दर्शक बढाउँदै लैजाने लगेको खण्डमा सिनेमाले व्यापारिक सफलता पाउने देखिन्छ ।

झरना थापा निर्देशित सिनेमाले पारालैंगिक समुदायको कथालाई उठान गरेको छ । यसअघि प्रेमकथाको सिनेमा बनाइरहेकी झरनाले यो सिनेमाबाट एउटा समुदायको आवाज बुलंद तारीकाले ऊठाएकी छन । झरनाले सामाजिक विषयवस्तुको कथामा पहिलो पटक सिनेमा निर्माण तथा निर्देशन गरेकी हुन् ।

उनले आफ्नो यो सिनेमाका लागि बक्स अफिसको अंकभन्दा दर्शकको स्याबासी महत्त्वपूर्ण रहेको निर्देशक थापा बताउँछिन् । ‘मलाई व्यापारिक सफलताभन्दा पनि दर्शक प्रतिक्रिया महत्त्वपूर्ण लाग्छ । बक्स अफिस भनेको त हिजो पनि थियो मेरो । त्यसैले त्यसको त्यतिधेरै चाहना छैन । मेरो चाहना चाहिँ दर्शकले स्याबासी दिउन् भन्ने हो, जुन यतिबेला मैले पाइरहेकी छु ।’

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् । सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।