परदेशीको पीडा र बाध्यता बोल्ने ‘परदेशी २’को गीत सार्वजनिक

परदेशीको पीडा र बाध्यता बोल्ने ‘परदेशी २’को गीत सार्वजनिक

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हिजो काम आज काम’ बोलको परदेशीको पीडा र बाध्यता बोल्ने गीतमा सतिश चापागाईको शब्द रचना, बिबि अनुरागीको संगीत तथा प्रशान्त तामाङको स्वर रहेको छ ।

नारायण रायमाझी निर्देशित सिनेमाका प्रशान्त मुख्य अभिनेता समेत हुन् । सार्वजनिक गीतमा सिनेमाको कथासार बुझाउने केही मनछुने संवाद समेत समावेश छन् । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमामा नीर शाह, प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानी रहेको सिनेमामा गीतकार तथा संगीतकार रमेश विजीको कथा लेखन छ । सिनेमाले उच्च शिक्षाका लागि विदेशिन बाध्य विद्यार्थीको कथालाई प्रस्तुत गरेको छ । २०१५ मा प्रदर्शन आएको परदेशी पनि वैदेशिक रोजगारीको कथामा आधारित थियो । त्यसबेला यो सिनेमा बक्सअफिसमा सुपरहिट भएको थियो ।

मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । सिनेमालाई डिसिएन र एफडी कम्पनीले वितरण गर्दैछन् ।