सर्वोत्कृष्ट सिनेमा घोषणा नगर्ने निर्णयविरुद्ध अदालत पुगे ‘प्रकाश’ लेखक र निर्देशक

सर्वोत्कृष्ट सिनेमा घोषणा नगर्ने निर्णयविरुद्ध अदालत पुगे ‘प्रकाश’ लेखक र निर्देशक

द सिनेमा टाइम्स
322
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘प्रकाश’का लेखक र निर्देशकले राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट सिनेमाको घोषणा नगर्ने चलचित्र विकास बोर्डको निर्णयविरुद्ध उच्च अदालत पाटनमा बिहीबार रिट दायर गरेका छन् ।

जुरी टिमको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र कारण देखाउन परमादेशको मागसहित चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरिएको छ । फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्य, सिनेमा ‘प्रकाश’का निर्देशक दिनेश राउत र लेखक विकास सुवेदीले रिट दायर गरेका हुन् ।

कानुन व्यवसायी रौनकराज अर्यालले निवेदकका तर्फबाट शुक्रबार बिहान ११ बजे अदालतमा छलफलका लागि बोलाएको बताए । ‘प्रकाशले अवार्ड पाउनुपर्छ भनेर होइन, सर्वोत्कृष्ट विधामा किन सिनेमालाई पुरस्कृत गरिएन भन्ने कारण सार्वजनिक गर्न हामीले माग गरेका हौं,’ रिट दायरपछि लेखक सुवेदी र निर्देशक राउतले भने ।

जुरी संयोजक राजेन्द्र सभल उत्कृष्ट सिनेमाको विधामा अवार्ड नै वितरण नहुने भएपछि कार्यक्रममै सहभागी भएका थिएनन् । तर, उनी यस विषयमा अहिलेसम्म मौन बसेका छन् । अर्का एक जना जुरी सदस्य अनुप भट्टराईले उत्कृष्ट सिनेमाको सिफारिस गरिएको तर विकास बोर्डले वितरण नगर्नुको कारणबारे प्रश्न गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भदौ १२ गते सर्वोत्कृष्ट सिनेमालाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । यो विधामा पुरस्कार नबाँडिनुको कारण सत्तारुढ पार्टी माओवादीलाई प्रकाशले सिनेमाका नाममा नकारात्मक चित्रण गरिएकाले राजनीतिक हस्तक्षेप गरिएको चर्चा सिनेमा बजारमा आएका थिए ।