रामबाबु निर्देशित ‘डिग्री माइला’को छायांकन रुम्जाटारबाट सुरु

रामबाबु निर्देशित ‘डिग्री माइला’को छायांकन रुम्जाटारबाट सुरु

द सिनेमा टाइम्स
420
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङले निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ । गत शनिबार भाटभटेनी मन्दिरमा शुभमुहूर्त गरिएको सिनेमाको शुक्रबारबाट ओखलढुङ्गास्थित रुम्जाटारबाट क्यामेरा पूजा गर्दै छायांकन थालिएको हो । सिनेमाको पहिलो चरणको सम्पुर्ण छायांकन रुम्जाटारमै गरिनेछ ।

दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा गरिने जनाइएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिने सिनेमामा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको पनि अभिनय रहनेछ । दयाहाङ र आँचलबीच पहिलो पटक सिनेमामा सहकार्य गर्दैछन् । उनीहरुले यसअघि नै एउटा म्यूजिक भिडियोमा एकसाथ अभिनय गरिसकेका छन् । उनले भनेकी छन्, ‘उहाँसँग धेरै कलाकारहरु काम गर्ने मौकाको खोजीमा हुनुहुन्छ । त्यो सुनौलो अवसर मलाई प्राप्त भयो । उहाँसँग काम गर्नका लागि एकदमै उत्साहित छु ।’

दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ । मण्डला थिएटरमा २०७१ सालमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर सिनेमा निर्माण हुन लागेको हो । त्यो नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ । नाटक पनि यही विषयमा केन्द्रित थियो । निर्माण सुरु नहुँदै सिनेमाको प्रदर्शन मिति तय भैसकेको छ । आगामी वर्ष २०८१को नयाँ वर्षलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ ।

कमेडी जनरामा निर्माण हुने सिनेमाको स्लोगन निर्माण पक्षले ‘किन चाउरियो मरिच आफ्नै रागले’ दिएको छ । रामबाबु गुरुङ बक्स अफिसमा सुपरहिट सिरिज ‘कबड्डी’ सिनेमाका निर्देशक हुन् ।