सर्वोत्कृष्ट सिनेमा घोषणा नगर्ने बोर्डविरुद्ध अदालतको कारण देखाउ आदेश

सर्वोत्कृष्ट सिनेमा घोषणा नगर्ने बोर्डविरुद्ध अदालतको कारण देखाउ आदेश

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट सिनेमाको घोषणा नगर्ने चलचित्र विकास बोर्डविरुद्ध उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी श्रेष्ठको इजलासले आज सर्वोत्कृष्ट सिनेमा घोषणा नगर्नुको कारण माग गर्दै बोर्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो ।

शुक्रबार विपक्षी विकास बोर्डलाई अवार्डको मूल्यांकनको क्रममा जुरीले तयार पारेका सक्कल कागजपत्र पनि झिकाउन आदेश दिएको अदालतका सूचना अधिकृत अर्जुन आचार्यले जानकारी दिए ।

राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट सिनेमाको घोषणा नगरिएको भन्दै सिनेमा ‘प्रकाश’का निर्देशक दिनेश राउत र लेखक विकास सुवेदीले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउन र कारण देखाउन परमादेशको माग गरिएको थियो । राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा बोर्डले सर्वोत्कृष्ट विधा खाली राखेर अवार्ड वितरण गरेको थियो ।

भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।