‘परदेशी २’का लागि राजधानी र मोफसलका विद्यार्थीमाझ प्रकाश र केकी

‘परदेशी २’का लागि राजधानी र मोफसलका विद्यार्थीमाझ प्रकाश र केकी

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझि निर्देशित सिनेमा ‘परदेशी २’ टिम अहिले मोफसल दौडमा छ । आफ्नो सिनेमाको लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौंको कलेजपछि अहिले नारायणगढ पुगेको हो । त्यहाँका विभिन्न कलेजमा पुगेर निर्माण टिमले दर्शक फकाइरहेको छ ।

सिनेमा युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित छ । स्वभाविक रुपमा यसको लक्षित वर्ग कलेजका विद्यार्थीहरु हुन् । सिनेमाको टिमले पनि प्रचारका लागि कलेज नै रोजेको छ । सिनेमाको कथा बुझाउन नाटक समेत तयार गरिएको छ । त्यही नाटक लिएर काठमाडौंपछि सिनेमाको टिम यतिबेला मोफसल दौडाहामा छ । असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न शहरहरुमा सिनेमाको मोफसल टुर जारी रहनेछ ।

बिहीबार र शुक्रबार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका तन्नेरी विद्यार्थीहरुलाई परिवारसहित सिनेमा हेर्न निम्तो दिए । अब बुटवल, नेपालगञ्ज र पोखरामा यही शैली अपनाइनेछ । नाटकलाई विद्यार्थीहरुले रुचाएका छन् । नाटक हेर्दा कति विद्यार्थी भावुक भएको निर्देशक रायमाझीले बताए ।

सिनेमाका निर्देशक रायमाझीले ‘परदेशी र परदेशी २’को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक रहेको दाबी गरेका छन् । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको निर्देशक रायमाझीको भनाई छ ।

गीतसंगीतलाई सिनेमा जसरी छनक दिने गायक तथा संगीतकार एवम् ‘परदेशी २’बाट पहिलो पटक सिनेमामा पाइला चालेका अभिनेता प्रकाश सपुतले कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रुपमा जोडिएको जानकारी दिए ।

उनले अगाडी भने-‘गीतसंगीत गर्नु र सिनेमा गर्नु विल्कुलै फरक रहेको र परदेशी २ मा जोडिँदा चुनौती नै मोलेर सिनेमामा आवद्ध भएपनि निर्देशक नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन् ।’ सिनेमामा एउटा विदेशिने विद्यार्थीको भूमिकामा देखिए भन्दै परदेश हुदाँ घर, साथी, पढाईसँगै काममा हुने भोगाइ र यादहरुलाई चित्रण गरिएको जानकारी उनले दिए ।

अभिनेत्री केकी अधिकारीले सिनेमाको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको बताइन् । सिनेमामा एकजना परदेशी हुँदा उसको परिवार त सधैँ उसको पर्खाइमा रहने भयो तर उसँग जोडिएको उसको प्रेमलाई पनि सिनेमामा देखाएको छ । अनि कुनैपनि काम मन लगाएर गरेको खण्डमा देशमै सुन फल्छ भन्ने मूलमर्म सिनेमाले बोकेको उनले भनिन् ।

अभिनेता प्रशान्त तामाङ अभिनीत २०७२ सालमा रिलिज भएको सिनेमा ‘परदेशी’ सुपरहिट भएको थियो । यसपटक पनि उनी सिनेमामा विशेष भूमिकामा देखिने छन् । सिनेमाको कथा प्रकाश सपूतको वरिपरी घुमेको छ । यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गरेका सपुत गायनमा स्थापित नाम हो । एकातिर यो सिनेमालाई अघिल्लो श्रृंखलाको खास जोगाउनुपर्ने चुनौती छ भने अर्कोतिर प्रकाशलाई गायक हिरोको रुपमा सफल हुनुपर्ने चुनौती छ ।

नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको सिनेमा नारायण रायमाझी र राजेश बंशलले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमामा गीतकार रमेश विजीको कथा लेखन, मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।