स्क्रिप्टमा चित्त नबुझेसम्म आफू कुनै प्रकारको दबाब र हतारको प्रभावमा पर्ने छैन् : अनमोल केसी

स्क्रिप्टमा चित्त नबुझेसम्म आफू कुनै प्रकारको दबाब र हतारको प्रभावमा पर्ने छैन् : अनमोल केसी

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीले आफूलाई स्क्रिप्ट चित्त नबुझेसम्म सिनेमा गर्न हतार नगर्ने बताएका छन् । शनिबार उनले फेसबुकमा स्टाटस लेख्दै अब आफ्नो एकमात्र ध्यान प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्नेमा रहेको र यसका लागि आफू कुनै प्रकारको दबाब र हतारको प्रभावमा नपर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘म कुनै पनि प्रोजेक्टमा आबद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भीर छु, त्यसैले मैले अब सिनेमा गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तबसम्म सिनेमा गर्न हतार गर्ने छैन चाहे यसका लागि विलम्ब नै किन नहोस्, अबको मेरो एकमात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि अब ममाथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु ।’

आफूले यति गर्न सकेको खण्डमा मात्र सच्चा कलाकार ठहरिने विश्वास उनको छ । यसले आफूलाई व्यक्तिगतसँगै निर्माताहरुलाई पनि राम्रो हुने बुझाई उनको छ । निर्माताको लगानी सुरक्षालाई उत्तिकै ध्यान दिने गरेको बताउँदै उनले आफूमाथिको लगानी केवल आर्थिक अंकगणित मात्र नभएर एउटा व्यावसायिक विश्वास पनि रहेको र त्यो भंग हुन नदिने अठोट व्यक्त गरेका हुन् । यो कुरा आफ्नो अब आउने प्रोजेक्टहरुमा लागू हुने उनले स्पष्ट पारेका छन् ।

सुदर्शन थापाको ‘रावायण’ र सुयोग गुरुङको ‘फर्की फर्की’ गरी दुई सिनेमामा काम गर्ने योजनामा रहेका अनमोलले यस्तो स्टाटस लेखेका हुन् । अनमोललाई लिएर निर्देशक थापा असोज दोस्रो हप्ताबाट सिनेमाको छायांकन सुरु गर्ने योजनामा छन् । तर, अनमोलले सिनेमामा दोहोरो भूमिका रहेकाले पूर्वतयारीका लागि समय मागेको बताइएको छ ।