anmol jasita

अष्ट्रेलियामा दयाहाङ र मिरुनाको ‘रङ्गेली’ प्रिमियर हुने

अष्ट्रेलियामा दयाहाङ र मिरुनाको ‘रङ्गेली’ प्रिमियर हुने

द सिनेमा टाइम्स
427
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘रङ्गेली’को यतिबेला पूर्वी नेपालमा छायांकन भैरहेको छ । आगामी फागुन २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाको प्रिमियर भने अष्ट्रेलियाको मेलबर्न शहरमा गरिने भएको छ ।

दयाहाङ र मिरुनाको चौंथो सहकार्य रहेका सिनेमाको आगामी माघको अन्तिम हप्ता प्रिमियर गरिने निश्चित भएको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए । अष्ट्रेलियाको वितरण अधिकार लिएको कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’को प्रदर्शनसँगै प्रिमियर गर्नेछ । प्रिमियरमा नेपालबाट कलाकारहरुसहितको टिमको सहभागिता रहने जनाइएको छ ।

निर्माण टिमका अनुसार सिनेमाको संयुक्त राज्य अमेरिकामा पनि सार्वजनिक प्रदर्शन अगाडि प्रिमियर आयोजना गर्ने तयारी भैरहेको छ । स्टारकास्टका कारण सुटिङ पनि नसकिँदै विदेशी भूमिमा सिनेमाको माग उच्च देखिएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको सिनेमामा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी र रविन बोगटीको पनि अभिनय रहनेछ ।

सुशान्त गौतमको संगीतमा एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ । नेपाली सिनेमामा पहिलोपटक यसप्रकारले गीत छायाङ्कन गर्न लागिएको हो । गीतमा हर्क साउदको शब्द छ भने सनुप पौडेल तथा अनु चौधरीको स्वर रहनेछ । सिनेमाको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् ।

फिल्म ग्यांगस्टर कथावस्तुमा केन्द्रित भएर बन्न लागेको सिनेमाको निर्माताहरूमा संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ छन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता छन् । विवेक खड्का योलो पनि सिनेमाका एशोसियट निर्माता हुन् । हर्कुलस बस्नेतको पनि संगीत रहेको सिनेमालाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन् ।