पहिले नारायण सरका सिनेमाको दर्शक थिए, अहिले कलाकार बने : केकी अधिकारी

पहिले नारायण सरका सिनेमाको दर्शक थिए, अहिले कलाकार बने : केकी अधिकारी

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परदेशी २’ले यतिबेला प्रचार-प्रसारलाई तिव्रता दिइरहेको छ । निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित टिम सिनेमाको प्रचारको नेपालगञ्जमा छ ।

शनिवार नेपालगञ्ज पुगेर त्यहाँका सिनेमा हलहरु भिजिट गरेको टिमले आइतवार ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो । त्यसक्रममा बोल्दै अभिनेता प्रकाशले ‘परदेशी २’ आफ्नो पहिलो सिनेमा भएका कारण एकदमै उत्साहित रहेको बताए । सिनेमामा अभिनय गर्ने तयारी हुँदै गर्दा आफूमा जुन उत्साह थियो त्यही उत्साह अहिले पनि रहेको उनले बताए ।

‘जब मैले यो सिनेमामा काम गर्ने निर्णय गरेको थिएँ, त्यतिबेला अहिलेको जस्तो चर्चा-परिचर्चा थिएन्’ साक्षात्कारमा प्रकाशले भने, ‘त्यो सुरुवातमा सिनेमा गर्दैछु भन्ने कुराले ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’ उनले पहिलो सिनेमा भएकोले उत्साहसँगै थोरै डर पनि भएको प्रकाशले सुनाए ।

‘परदेशी २’को कथा सबै नेपालीको कथा भएको अभिनेत्री केकी अधिकारी बताइन् । मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको उनको भनाइ थियो । ‘यो सिनेमाले मेरो मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । परदेशी २ हामी सबैको कथा समेटिएको सिनेमा हो । त्यसैले पनि यो सिनेमाबाट निकै उत्साहित छु’ केकीले भनिन् ‘प्रकाश सपूतजिको पहिलो सिनेमा हो यो । उहाँसँग काम गर्न पाउँदा पनि खुशी छु । नारायण रायमाझी सरका अन्य सिनेमाहरु दर्शक बनेर हेर्ने गर्थें तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो ।’

सिनेमाले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए । ‘नेपालगन्जमा मेरा अघिल्ला सिनेमाहरु राम्रो चलेका थिए’, उनले भने, ‘अहिलेको सिनेमालाई पनि देशभर लगायत नेपालगन्जमा पनि दर्शकको साथ मिल्ने अपेक्षा गरेको छु ।’

‘परदेशी २’को सार भनेको संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने रहेको उनले बताए । ‘मेरा कथाहरुमा समाजको यथार्थता उतार्ने कोशिस गरेको हुन्छु । यो सिनेमामा पनि हाम्रै कथा उठान गरिएको छ’ उनले भने ।

साक्षात्कार पछि ‘परदेशी २’ टिमले सिनेमाको कथासार बुझाउने नाटक समेत प्रस्तुत गरेको थियो । सिनेमाको टिमले आइतबार नै नेपालगन्जका जिभिएन कलेज र यूनाइटेड कलेजमा पुगेर समेत नाटक प्रस्तुत गर्दै विद्यार्थीसँग साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुशी थिए ।

निर्देशक रायमाझीका अनुसार सोमबार कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि सिनेमाको टिम बुटवल फर्किने योजना छ । बुटवलपछि पोखरा हुँदै सिनेमाको टिम काठमाडौं फर्किनेछ । राजेश वंशल र नारायण रायमाझीको लगानी सिनेमामा रहेको छ ।

सिनेमामा प्रकाश र केकीका अलवा वर्षा सिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन, बिबि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।