राजनीतिक पुनरागमनको कथामा ‘नांगो गाउँ’को सिक्वेल घोषणा, एक वर्षपछि छायांकन

राजनीतिक पुनरागमनको कथामा ‘नांगो गाउँ’को सिक्वेल घोषणा, एक वर्षपछि छायांकन

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘नाङ्गो गाउँ’ले इनिसियल व्यापार राम्रो गर्यो । निर्माताले सिनेमा हिट भैसकेको दाबीसहित सिक्वेल निर्माणको समेत घोषणा गरेका छन् ।

निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक लामाबीच सिक्वेल निर्माणको सहमति भएपछि सोमबार सिनेमाको थिम पोस्टर सार्वजनिक गरिएको छ । ‘नाङ्गो गाउँ २’ शीर्षक राखिएको सिनेमाको ट्याग लाइन ‘अ पोलिटिकल कमब्याक’ अर्थात् ‘एक राजनीतिक पुनरागमन’ सिक्वेलमा दयाहाङ राईले निर्वाह गरेको पात्र पासाङ केही समयपछि गाउँ फर्किने कथा रहनेछ ।

उनले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनी भन्छन्, ‘अहिले सिनेमाको कथा जहाँनिर टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो भयो र हामीले दुई भागमै बनाउने सोच्यौं । सिक्वेल एक वर्षपछि बन्छ ।’

जरीको आतंकबाट वाक्क भएपछि गाउँलेहरुले काठमाडौं गएर पासाङलाई गाउँमा फर्काउने र जरीको खराब गतिविधिलाई रोक्न पासाङ संघर्षमा होमिएको कथामा सिक्वेल बन्ने निर्देशक लामाले स्पष्ट पारेका छन् । ‘नाङ्गो गाउँ २’अघि निर्माता कडरियाले एउटा कमेडी सिनेमा बनाउँदैछन् । तिहारपछि छायांकनमा जाने सिनेमामा निर्देशक लामाकै लेखन छ ।

निर्माता कडरियाले दर्शककै मागअनुसार सिक्वेल निर्माण गर्न लागेको बताएका छन् । ‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गर्दै सिक्वेलको माग गर्नुभयो,’ उनले भने, ‘छायांकनकै दौरानमा हामीले दोस्रो भागको परिकल्पना गरिसकेका थियौं । अहिले दोस्रो भागको माग आएकाले हामी यसको योजनामा अगाडि बढेका हौं ।’ सिनेमामा ‘नाङ्गो गाउँ’कै स्टारकास्ट दोहोरिनेछ ।