नेपाली सिनेमा ‘रिलिज वर्ल्ड’मार्फत् विश्वभरका ओटीटीमा रिलिज गरिने

नेपाली सिनेमा ‘रिलिज वर्ल्ड’मार्फत् विश्वभरका ओटीटीमा रिलिज गरिने

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा अब विश्वका प्रतिष्ठित ओटीटी प्लेटफर्महरुमा रिलिज गरिने भएको छ । डिजिटल रिलिज अमेरिकन कम्पनी ‘रिलिज वर्ल्ड’ले एसियाका सिनेमाहरु ओटीटीमा रिलिज गर्ने बाटो खुल्ला गरेको हो ।

नेपाली सिनेमा अबदेखि यो कम्पनीले नेटफ्लिक्स, वूट, अमेजन प्राइम भिडियो, जियो सिनेमा, डिज्नी प्लस हटस्टार, जी फाइभलगायतका प्रमुख ओटीटी प्लेटफर्महरुमा रिलिज गराउनेछ । एसिया हेर्ने कार्यालय भारतस्थित मुम्बईमा रहेको यो कम्पनीको तर्फबाट नमस्ते इन्टरटेन्मेन्टले नेपाली सिनेमालाई यी प्लेटफर्ममा रिलिज गराउने आधिकारिकता लिएको छ ।

नमस्ते कम्पनीका प्रमुख तथा सिनेमा निर्देशक शिव घिमिरेले हलिउड र बलिउड सिनेमाजस्तै ओटीटीको माध्यमबाट नेपाली सिनेमाहरुलाई पनि विश्वभर र्पुयाउनका लागि ‘रिलिज वर्ल्ड’बाट आधिकारिकता लिएको जानकारी दिए । निर्माताले सिनेमाको राम्रो बजार पाउन नसकिरहेको अवस्थामा अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा सिनेमा रिलिज गर्दा २५ प्रतिशतसम्म व्यापार बढ्ने उनको दाबी छ ।

घिमिरे भन्छन्,-‘युट्युबमा ५० लाख दर्शकले सिनेमा हेर्दा पनि निर्माताको हातमा २० लाख पर्दैन । तर, त्यही दर्शकले ओटीटीमा सिनेमा हेर्दा २७ देखि ३२ करोडको व्यापार हुन्छ । यो विषयमा नेपाली निर्माताले समयमै सोच्न जरुरी छ ।’ ५५ बढी भाषामा नेपाली सिनेमालाई ओटीटी प्लेटफर्ममा पुर्‍याउन नमस्ते इन्टरटेन्मेन्टले सघाउनेछ ।

नमस्ते इन्टरटेन्मेन्टका घिमिरेका अनुसार निर्माताहरुले ‘रिलिज वर्ल्ड’को अनलाइन ‘अगइन’ गरेर आफूले चाहेको समयमा सिनेमा रिलिज गर्न सक्ने र सिनेमाको आम्दानी पनि ‘लगइन’ एकाउन्टबाट नै हेर्न सकिने बताए । नेपाली निर्माताका लागि यो प्लेटफर्म आम्दानीको बलियो स्रोत बन्ने विश्वास उनको छ ।