पिजी सर्टिफिकेट सहित ‘परदेशी २’ सेन्सर पास

पिजी सर्टिफिकेट सहित ‘परदेशी २’ सेन्सर पास

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असोजको २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परदेशी २’ सेन्सर पास भएको छ । नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी २’ लाई केद्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट सहित प्रदर्शन अनुमति दिएको हो ।

प्रदर्शनको झण्डै ३ साताअघि आइतवार साँझ सिनेमाको सेन्सर गराइएको थियो । सेन्सर बोर्डले सिनेमामा समावेश कुनै पनि दृश्य र संवादमा कैची चलाएको छैन । सेन्सर बोर्डका पदाधिकारीले सिनेमा हेरेपछि खुलेर प्रशंसा गरेका थिए । मौलिक कथामा निर्माण भएको भन्दै आफूहरुले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए ।

‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर-घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने सिनेमा बनेको रहेछ । सिनेमा हेरेर मज्जा आयो । यस्तो सिनेमाहरु चल्छ भनेर शुभकामना दिनुभयो ।’

सिनेमाको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइ । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए । सिनेमाका निर्देशक नारायण रायमाझी, कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित सिनेमालाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षाका अलवा सिनेमामा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । गायनमा स्थापित प्रकाशको यो डेब्यु सिनेमा हो ।