माघमा आमा बन्दै अभिनेत्री रेखा थापा

माघमा आमा बन्दै अभिनेत्री रेखा थापा

द सिनेमा टाइम्स
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हाल सिनेमा ‘उपहार : द जर्नी अफ लाईफ’को छायांकनमा व्यस्त अभिनेत्री रेखा थापाले दर्शकलाई सरप्राइज दिएकी छन् । दशैं अगाडी नै छायांकन सक्ने गरी धमाधम छायांकन भैरहेको सिनेमाको सेटबाट अभिनेत्री थापाले आफु आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् ।

अभिनेत्री थापाले मंगलबार ट्विटरमा आफ्ना श्रीमान् बलराम शाहीसँगको एक तस्वीर राख्दै लेखिन्-‘भविष्य पनि गजबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’ लामो समय नेपाली सिनेमा क्षेत्रमा एक छत्र राज गरेकी अभिनेत्री थापाले घुमाउरो तरिकाले आफू आमा बन्न लागेको खबर शुभचिन्तकहरुमाझ शेयर गरेकी छन् ।

गतबर्ष प्रेमी बलराम शाही ठकुरीसँग बैबाहिक जीवनमा बाँधिएकी रेखा आमा बन्ने तयारीमा छिन् । निकट श्रोतका अनुसार, रेखाको पेटमा ५ महिनाका सन्तान हुर्किदैछ । रेखाले, श्रीमान्सँगको तस्वीर शेयर गर्दै सन्तान आगमनको प्रतिक्षा गर्दै खुशी साटेकी हुन् ।

रेखाको पेट बढ्दै गएपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनका दृश्यहरुको छायांकन पहिले गरिरहेका छन् । यसैले, रेखा सिनेमाको छायांकन सुरु भएपछि एक दिन पनि खाली नबसी निरन्तर काम गरिरहेकी छिन् । सिनेमाको छायांकन सकेपछि रेखाले पूर्ण रुपमा आराम गर्नेछिन् ।

रेखाका लागि यसपटक दोहोरो खुशी मिल्नेछ । पहिलो खुशी उनी आगामी माघ महिनामा सन्तानकी आमा बन्दैछिन् भने दोस्रो आगामी नयाँ बर्षको अवसरमा उनले निर्माण तथा अभिनय गरेको सिनेमा ‘उपहार’ रिलिज हुनेछ । दोहोरो खुशीको लागि द सिनेमा टाइम्स परिवारको तर्फबाट रेखा र बलराम दम्पत्तिलाई बधाई तथा शुभकामना ।