anmol jasita

मधेशको कथामा ‘बलिदान’ निर्माण गर्दै सन्तोष सेन, तिहारपछि छायांकन

मधेशको कथामा ‘बलिदान’ निर्माण गर्दै सन्तोष सेन, तिहारपछि छायांकन

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा निर्देशक सन्तोष सेनले सिनेमा ‘बलिदान’को निर्माण घोषणा गरेका छन् । ‘प्रेमगीत’का तीन श्रृंखलाको बक्स अफिस सफलतापछि तिहारपछि छायांकनमा जाने तयारीसहित सिनेमाको निर्माण घोषणा भएको बताए ।

सिनेमाले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्छ । मधेश आन्दोलनको महत्वपूर्ण घटनामा आधारित रहेर निर्माण हुने सिनेमाको टिजर छायांकन समेत भइसकेको छ ।

निर्माताले ‘बलिदान’ शीर्षकमा विकास बोर्डमा शीर्षक दर्ता गरिसकेका छन् । मधेश प्रदेशका विभिन्न स्थानमा छायांकन गर्ने तयारी भैरहेको सिनेमाको बजेछ ६ करोड बताइएको छ । तर सिनेमा राजनीतिक कथावस्तुबारेमा आधारित नरहेको सेनले बताए ।

‘कथावस्तु वर्तमान राजनीतिबारे छैन । कथा वास्तविक हुन्छ तर पात्र काल्पनिक हुन्छन् । मधेशी र पहाडीबीचको द्वन्द्व किन थियो र किन भयो भन्ने इस्युमा सिनेमा बन्न लागेको हो । नेपाली हामी एक हौं भन्ने सन्देश सिनेमाले दिन्छ,’ सेनले भने, ‘हजारौं नागरिकले परिवर्तनका लागि बलि दिए । अब विदेशी दलाललाई रोक्नु जरुरी छ ।’

सिनेमाको निर्देशक र कलाकारबारे खुलाइएको छैन । चाँडै यसबारे विस्तृत घोषणा गर्ने आशुसेन फिल्म्सको तयारी छ । ‘यो निकै हेभी सिनेमा हुनेवाला छ । एक महिनाअघि प्रि-प्रोडक्सन सुरु हुनेछ । सेट बनाउने तयारी छ । स्क्रिप्टको लागि लेखकहरु अहिले अनुसन्धानमा हुनुहुन्छ । हातहतियार र घटनाबारे रिसर्च हुँदैछ,’ उनले भने ।

निर्माताले बोर्डमा यसअघि ‘भिल्ला’ शीर्षक दर्ता गरे पनि पछि ‘बलिदान’ शीर्षकमा नाम परिवर्तन गरिएको थियो । चर्चित कलाकारलाई कास्टिङ गर्ने निर्माता सेनले जनाए । तर यसमा प्रदीप खड्का कास्ट हुन्छन् या हुँदैनन् भन्नेबारे उनले खुलाएनन् ।