‘परदेशी २’को तेस्रो गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

‘परदेशी २’को तेस्रो गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’को तेस्रो गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक गरिएको छ । सिनेमामा समावेश झ्याउरे गीत बुधवार बिहान युट्युबमा सार्वजनिक गरिएको हो । केही दिन अगाडि सार्वजनिक ‘हिजो काम’लाई दर्शकले रुचाएपछि निर्माण टिमले झ्याउरे गीत सार्वजनिक गरेको छ ।

सार्वजनिक गीतमा निर्देशक रायमाझीसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती मगर र ममता गुरुङको स्वर छ । शब्द रचना पनि निर्देशक रायमाझी स्वयंमले गरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले सार्वजनिक गीतमा संगीत दिएका छन् । भिडियोमा सिनेमामा मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीका अलवा अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ ।

शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ । भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो । नेपाली सिनेमामा कमै मात्र समावेश गरिने यसप्रकारको मौलिक झ्याउे गीतले दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ ।

‘परदेशी २’ दशैंको छेको पारेर आगामी असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको सिनेमामा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ ।

युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित सिनेमाको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।