सलमान र कटरीनाको ‘टाइगर ३’को टिजर सार्वजनिक

सलमान र कटरीनाको ‘टाइगर ३’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान अभिनीत सिनेमा ‘टाइगर ३’को टिजर सार्वजनिक गरिएको छ । ‘टाइगरको म्यासेज’ भनेर सार्वजनिक गरिएको टिजर एक्सन प्याक्ड छ । १ मिनेट ४६ सेकेण्ड लामोको टिजरमा सलमान एक्सन अवतारमा प्रस्तुत छन् ।

सिनेमाको सार्वजनिक टिजरको सुरुवातमा टाइगरको ‘कन्फेसन’ छ, जहाँ उसले आफू भारतको दुश्मन र एक नम्बर गद्दार रहेको दाबी गरेको छ । ‘मेरो नाम अविनाश सिंह राठौड हो । तर, तपाईहरुका लागि म टाइगर हुँ । २० वर्ष सबैथोक भारतको सुरक्षामा लगाएँ । बदलामा केही मागिनँ । आज माग्दैछु,’ टाइगर पात्रले भन्छ ।

सलमानले इन्स्टाग्राममा टिजर सेयर गर्दै लेखेका छन्, ‘जबसम्म टाइगरको मृत्यु हुँदैन, तबसम्म टाइगर पराजित हुँदैन । आज यो बताइँदैछ कि टाइगर दुश्मन हो । एक नम्बरको गद्दार हो । २० वर्षपछि इन्डियासँग आफ्नो क्यारेक्टर सर्टिफिकेट माग्दैछु । मेरो छोरालाई मैले होइन भारतले भन्नेछ, उसको पिता गद्दार हो या देशभक्त ।’

मनिष शर्माद्वारा निर्देशित सिनेमामा सलमानका अलवा कटरीना कैफको मुख्य भूमिका छ । यसका अघिल्ला दुई श्रृंखलामा पनि उनीहरु नै थिए । सिनेमामा इमरान हाशमी भिलेनको भूमिकामा छन् । तर, टिजरमा सलमानबाहेकको कलाकारलाई राखिएको छैन ।

आगामी दीपावली अर्थात् तिहारको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘टाइगर ३’मा शाहरुख खान र ऋतिक रोशनको केमियो भूमिका रहेको जनाइएको छ ।